नेभिगेशन
समाचार

धनगढीमा प्रधानमन्त्री पत्नी आरजुलाई चुनाव जित्न कति सहज ?

कैलाली - वि.सं. २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पराजित गर्दै एमाले नेता नारदमुनी राना बिजयी भएका थिए । नेपाली कांग्रेसको गढ क्षेत्र मानिने धनगढी अर्थात कैलाली क्षेत्र नम्बर ५ मा फेरि आरजु नै चुनाव लड्ने पक्कापक्की जस्तै देखिएको छ । गत चुनावमा वाम गठ्बन्धन र पार्टीभित्रैबाट असहयोग हुँदा चुनाव हारेकी देउवालाई अहिले पनि सजिलो छैन । हुन त राजनीतिक समीकरण अहिले २०७४ को जस्तो छैन । अघिल्लो पटक वाम गठबन्धन गरी एमाले र माओवादीले मिलेर चुनाव लड्दा काँग्रेस एक्लो थियो । अहिले ठीक विपरीत पाँचदलीय गठबन्धन भएर एमालेलाई एक्लो पारिएको छ । एमाले एक्लो भए पनि उसँग मुद्दा बलियो भएका कारण गठबन्धनलाई पराजय गरी पुनः क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवार विजय हुने नेकपा एमालेका कैलाली जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा जोशीको दाबी छ । आफूले जितेको क्षेत्रमा आरजुलाई टिकट दिइएपछि २०७४ सालको चुनावमा कांग्रेस नेता पुष्करनाथ ओझाले आरजुलाई सहयोग नगरेको आरोप लागेको छ । आफूले निर्वाचन क्षेत्र खाली गर्नुपरे पार्टी सभापति शेरबहादुर देउवाका लागि मात्रै खाली गर्न सकिने उनको भनाइ थियो । तर पार्टीले आरजुलाई टिकट दिएपछि उनी मौन बसे । त्यसपछि आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । यो कारबाही अहिलेसम्म फुकुवा भएको छैन । कांग्रेसको साधारण सदस्यबाटै निकालिएका ओझा अहिले स्वतन्त्र रूपमा निर्वाचन लड्ने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा एजेण्डा बलियो भएका कारण स्वतन्त्र उम्मेदवार विजय भएका कारण प्रतिनिधि सभाको चुनावा पनि कुनै दुल र ब्यक्ति विशेष नभई धनगढीका जनताले यहाँको समस्या वुझने नेतृत्वलाई भोट दिन नागरिक अगुवा घनबहादुर शाहको वुझाई छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालले भने ओझाले स्वतन्त्र लडे पनि आरजुको जितमा तगारो बन्न नसक्ने बताए । उनले क्षेत्र ५ नम्बरमा वर्तमान सांसद नारदमुनी रानाले गरेका काम र हारे पनि आरजु देउवाले गरेका कामको मुल्याङ्कन गरेका कारण आरजुको जित निश्चित रहेको उनले दाबी गरे । धनगढी उपमहानगरभित्र पर्ने क्षेत्र नम्बर ५ मा स्थानीय तहको चुनावमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले नगर प्रमुखमा जित निकालेका थिए । १९ वडा रहेको उपमहानगरको १२ वटा वडामा कांग्रेस विजयी भएको थियो । कैलाली क्षेत्र नम्बर ५ मा करिब एक लाख मतदाता छन् । समग्रमा नेपाली कांग्रेसको बाहुल्य रहे पनि चुनावको नतिजा भने उल्टो आउने गरेको विगतको चुनावको परिणामले पनि देखाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार