नेभिगेशन
जीवनयापन

उपत्यकासहित देशैभर डेंगीका बिरामी बढ्दै, काठमाडौंका अधिकांश अस्पतालमा विरामीको चाप

काठमाडौं - पछिल्लो समय काठमाडौं उपत्यकासहित देशैभरका अस्पतालहरुमा डेंगीका विरामीहरुको संख्या बढ्दो छ । काठमाडौं उपत्यकाका कतिपय सरकारी अस्पतालहरुमा उपचार गर्ने ठाउँ नै नपाउने अवस्था सिर्जना भएको छ । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गी ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई-मधेश तथा पहाडी क्षेत्रमा डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखरा जस्ता शहरमा डेंगी ज्वरोका बिरामी बढिरहेका छन् । यस पटक काठमाडौंमा डेंगीका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । अस्पतालमा चिकित्सकसहित धेरै डेंगीका बिरामी भर्ना भएको उनले बताए । ‘यहाँ दैनिक डेंगीका बिरामी भर्ना भइरहेका छन्’, उनले भने, ‘घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।’ विशेष गरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको संक्रमण फैलिने गर्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार जनवरी १ देखि हालसम्म ५९ जिल्लामा २,१८ वटा डेगुका केसहरु भेटिएको छ । जसमा सबै भन्दा धेरै ललितपुरमा ६२३, रुपन्देहीमा ३५३ र काठमाडौँमा २३३ केसहरु रहेको महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.ड शेरबहादुर पुनका अनुसार ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स-साना बिमिराहरु देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक-वाक लाग्ने/बान्ता हुने जस्ता लक्षणहरु डेंगु संक्रमणको शुरुवाती अवस्था हो । यस्तो लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्ने उनले बताए । डा. पुनका अनुसार डेंगु संक्रमण किटजन्य रोगअन्तर्गत पर्दछ । एडिस जातको लामखुट्टेमार्फत डेंगी भाइरस फैलने गर्दछ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्ने भएकाले यसको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोग्गिनु पर्नेमा उनले जोड दिए । साँझ-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नु पर्दछ । डेंगी भएको समयमा ब्रुफेन, फ्लेक्सोन, एस्पिरिन जस्ता दुखाइ कम गर्ने औषधिहरूको प्रयोग झुक्किएर पनि गर्न नहुने डा. पुन बताउँछन् । डा. पुनका अनुसार यस्ता औषधिको प्रयोगले संक्रमितमा रक्तश्राप गराउने सम्भावना बढी हुने भएकाले आफैं औषधि पसलमा जाने र ब्रुफेन जस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग आफूखुशी गर्दा घातकसिद्ध हुनसक्ने बताउँछन् । डेंगुका सामान्य लक्षणहरुमा बिरामीले घरमा नै बसेर स्वास्थ लाभ गर्न पनि सक्दछन् । तर अत्यधिक पेट दुखेमा, बारम्बार बान्ता भएमा, शरीर अल्छी भएमा, रक्तश्राव भएमा र रगत परीक्षण गर्दा प्लेटलेट्सको संख्या तीव्र गतिमा घटेको र हेमाटोक्रिट बढ्दै गएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्ने डा. पुनले बताए । सन् २००४ मा डेंगी नेपालमा पहिलो पटक पुष्टि भएको थियो भने सन् २०१९ मा नेपालको इतिहासमै सबैभन्दा लामो अवधि देखिएको, धेरै जिल्लाहरुमा फैलिएर हजारौं मानिस संक्रमित भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्