नेभिगेशन
जीवनयापन

विराटनगरमा झडप : १० घाइते, एकको अवस्था गम्भिर

मोरङ - मोरङको विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा मंगलबार साँझ दुई पक्षबीच झडप हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । पुरानो रिसईबीलाई लिएर गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच दोहोरो झडप भएको प्रहरीको भनाई छ । घटनामा राजकुमार आफै घाइते भएका छन् । गम्भीर अवस्थाका उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा परेर राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन्। कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कदै गर्दा राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबीच विवाद भएको थियो । घटना थाहा पाउने बित्तिकै प्रहरी पुगेर दुवै पक्षलाई सम्झाईबुझाई गरेर पठायो । तर केहीबेरमा बाँस, भाटा र लाट्ठी लिएर भेला भएका दुई पक्षीबीच दोहोरो झडप भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाअनुसार केहीदिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । त्यतिबेला दिनेशमाथि कुटपिट पनि भयो । दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भएको थियो । त्यही घटनाको रिसईबीलाई लिएर विवाद झिकिएको र विवाद दोहोरो झडपमा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डीएसपी श्रेष्ठले झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्