नेभिगेशन
जीवनयापन

मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्य सुस्त

तनहुँ - गण्डकी प्रदेशको लाइफलाइन मानिने पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्यले गति लिन सकेको छैन । विस्तार कार्यमा सानाठूला बजार क्षेत्र हटाउने, रूख काट्ने, विद्युत पोल हटाउनेदेखि प्राकृतिक स्रोतमा स्थानीय पालिकाको दाबीसम्मको चुनौती देखिएकाले लक्ष्य अनुसारको प्रगति हुन नसकेको आयोजनाले बताएको छ । मुग्लिनबाट करिब १६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म इन्टरमिडियट लेन विस्तार गरिएको राजमार्गलाई गत आर्थिक वर्षबाट चार लेनमा विस्तार कार्य अगाडि बढाइएको छ । आर्थिक वर्ष २०८५/०८६ सम्म सडकको स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता गरिएको करिब एक वर्ष बितेको छ । मुग्लिन-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी सडकको स्तरोन्नति कार्य अगाडि बढाइएको भए पनि पहिलो वर्ष लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेको छैनन् । चार लेनमा विस्तार हुन लागेको मुग्लिन-पोखराको दूरी करिब ८८ किलोमिटर छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० किलोमिटर छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले आँबुखैरेनी-पोखरा सडकलाई आँबुखैरेनी-जामुने (४१ किमी) पूर्वी खण्ड र जामुने-पोखरा (३९ किमी) पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आँबुखैरेनीबाट-जामुने भञ्ज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेसन कम्पनी लिमिटेडलाई ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा जिम्मा दिइएको छ । सो ठेक्काको सम्झौता वि.सं. २०७८ वैशाख २ गते भएको थियो । निर्माण सुरु भएको वर्ष दिन हुन लागे पनि निर्माणको गति कम देखिएको छ । यो अवधिमा निर्माण पक्षले १५ प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य लिए पनि ३ दशमलव ५ प्रतिशत मात्र प्रगति भएको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । योजनाको जामुने भञ्ज्याङ-पोखरा (पश्चिम खण्ड) सडक स्तरोन्नतिको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गरेको छ । निर्माण सुरु भएको एक वर्षभित्र ६ प्रतिशत भौतिक प्रगतिको लक्ष्य लिएपनि हालसम्म १ प्रतिशतमात्र काम सम्पन्न गरेको छ भने ७ दशमलव ५ प्रतिशत वित्तीय प्रगति गरेको छ । ठेक्का सम्झौता जेठमा भएता पनि भदौबाट यो खण्डमा काम सुरु गरिएको थियो । काम सुरु भए लगत्तै चाडपर्वका कारण कर्मचारी परिचालन गर्न नसक्नु, कोरोनाका कारण चीनबाट उपकरण र कामदार पनि समयमा ल्याउन नसक्नु तथा वर्षाको समय सडक फराकिलो गर्ने कामले गति लिन नसक्दा लक्ष्यअनुसारको प्रगति हासिल गर्न नसकिएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले बताए । पश्चिम खण्डमा सडक विस्तारका लागि घर, टहरा, पाटीपौवा, पर्खाललगायतका गरी तनहुँ खण्डको खैरेनीटार बजार क्षेत्र बाहेकका १३८ वटा भौतिक संरचना भत्काइने भएको छ । उक्त संरचनाको क्षतिपूर्तिका लागि योजनाले २ करोड ४५ लाख ३९ हजार ६३३ रुपैयाँ रकम दिन स्वीकृत गरेको छ । हालसम्म करिव ४२ घरलाई ४० लाख बराबरको क्षतिपूर्ति बापतको रकम वितरण गरिसकिएको छ । सडक विस्तारका लागि खानेपानीको संरचना हटाउन पनि समस्या देखिएको । यस्तै, सडक चौडा गर्ने क्रममा ढुङ्गा र माटो निस्के पनि निर्माण सामग्रीमा स्थानीय तहबाट ‘हाम्रो हो’ भनी रोयल्टी माग भएको र ढुवानी गर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको योजनाले जनाएको छ । यस्तै, अमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ । सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था नभएको सडक विभागले बताएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तर्गत साविक दुई लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिव ६ हजार ७५० र कास्की खण्डमा एक हजार २५० वटा रूख काटिने भएको छ । यस्तै, आँवुखैरेनी-पोखरा सडक स्तरोन्नति गर्दा साना ठूला गरी ३१ वटा मोटरवेल पुल निर्माण गरिने भएको छ । यता, आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने सडक स्तरोन्नतिको डिजाइन हुँदैछ । यो खण्डमा मस्र्याङ्दी जलविद्युत गृह रहेकाले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्ने तयारी भएको योजनाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्