नेभिगेशन
जीवनयापन

जय पृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग

काठमाडौँ– विश्व शान्तिको प्रवर्द्धनका लागि राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ । सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका वक्ताले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्त्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उहाँको योगदान ओझेलमा परेको बताए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सत्ता सुख छोडेर जनताको हितमा लाग्ने व्यक्तित्वका रूपमा जयपृथ्वीबहादुर सिंहलाई भावी पुस्ताले सम्झने बताए । जङ्गबहादुर राणाका नाति र चन्द्रशमशेरका ज्वाइँ भएर पनि सिंहले जनताको हितका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रमा काम गरेको ऐतिहासिक तथ्य रहेको उनले बताए। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मरराज जोशीले पहिलो विश्वयुद्धको बीभत्स दृश्यबाट जयपृथ्वीबहादुर सिंहले मानवतावादी दर्शन प्रवर्तन गर्नुभएको बताए । मानव अधिकारका दार्शनिक चिन्तन गर्ने पहिलो व्यक्तित्व पनि सिंह नै भएको उनको भनाइ थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्दबहादुर सिंहले बझाङको ५५ औँ राजाको पद भाइलाई छोडेर सिंह मानवतावादी अभियानमा लागेको बताए। उनले बेलायतबाट फर्केपछि ससुरा तत्कालीन श्री ३ चन्द्रशमशेरसँगै फरक मत राखी शिक्षा लगायत सुधारमा जय पृथ्वीबहादुर लाग्नुभएको उनले जानकारी गराए । मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले जय पृथ्वीबहादुरलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गर्ने तयारी भएको बताए। विसं १९३४ मा जन्मनुभएका सिंहको १९९७ सालमा निधन भएको थियो । सरकारले उनलाई गत असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्