नेभिगेशन
जीवनयापन

मिटर ब्याजीविरुद्ध झापामा २४ वटा उजुरी

झापा– जिल्ला प्रशासन कार्यालय, झापामा मिट ब्याजीविरुद्ध २४ वटा उजुरी परेका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि सूचना आव्हान गरेसँगै मिटर ब्याजीबाट पीडित २४ जनाले उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा १६ र इलाका प्रशासन कार्यालय दमकमा ८ जना गरी २४ जनाले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराईले जानकारी दिए । प्रहरी कार्यालय झापामा भने कुनै पनि उजुरी नपरेको उनले बताए । भट्टराईका अनुसार ५ देखि २५ लाखसम्मको दाबीसहित उजुरी परेको छ । प्रशासन कार्यालय झापाले मिटर ब्याजीको धन्दा गर्नेहरूबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरेको थियो । कार्यालयले पीडितलाई मिटर ब्याजीले गरेको अपराध र शोषणबारे खुलाएर उजुरी दिन भनेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्र प्रसाद न्यौपानेले जिल्लामा अनौपचारिक रुपमा भएको कारोबारमा धेरै समस्या रहेको जानकारी दिए । उजुरी दिएकामध्ये कतिपयले प्रमाण पेस नगरेको उनको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्