नेभिगेशन
जीवनयापन

नवलपरासीको वनको जग्गा भाडामा

  • राज चौधरी 
नवलपरासी – नवलपरासीको सरकारी तथा सामुदायिक वन अतिक्रमण भइरहेको सम्बन्धमा प्रशासन मौन देखिएको छ । राजनीतिक दबाब र प्रशासनको लाचारीले सरकारी र सामुदायिक वन क्षेत्र मिच्नेक्रम बढ्दै गएपनि सरोकारवाला निकायहरू तैं चुप मैं चुप छन् । सुनवल १३ बडेरमा रहेको मोतिलाल क्याम्पसले वनको जग्गामा संरचना  बनाएर भाडामा दिएको सिद्धार्थ हार्डवेयर हो । वनको जग्गा भाडामा दिँदा र  संरचना बनिसक्दा समेत केहीगर्न नसकेपछि वन प्रशासनको  लाचारीपन स्पष्ट भएको छ । यसक्षेत्रमा  अधिकांश राजमार्गको छेउमा वन अतिक्रमण भएको छ ।  २०६५ सालमा स्थापना भएको मोतिलाल बहुमुखी क्याम्पसले आफ्नो मूल गेटको अगाडि  वनको १२ कठ्ठा जग्गा निजी व्यवसाय गर्ने सिद्धार्थ हार्डवेयरलाई १० वर्षको लागि वार्षिक सातलाख २० हजार रुपैयाँका दरले भाडामा दिएको छ । मोतिलाल क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिवारीले बताए ।  राजमार्ग आसपासमा संरचना बन्ने क्रम जारी नै छ । सुरुमा सानातिना छाप्रा बनेको यो क्षेत्रमा तीव्र गतिमा नयाँ संरचना थपिदै छन । यी सबै निजी ठूला घरटहरा तथा संघ संस्थाको कार्यलयका हटाउन कसैले चासो देखाएका छैनन् । कतिपय सामुदायिक वनको आधाजसो भूभाग नै अतिक्रमणमा परेको छ ।  तर, राजनीतिक दबाब र सरकारी लाचारीपनले सामुदायिक वन क्षेत्रभित्र थपिएका संरचनाले बजारको रूप लिँदासमेत हटाउन प्रयास भएको छैन । केहीमा त संघ संस्थाका कार्यालय नै छन् । देशमा ठूलालाई काखा ,सानालाई पाखा गर्ने गरिएको कथन पनि यो अवस्थाले प्रष्ट गरेको छ । पहुँच नभएकाहरूको  घरटहरा भत्काउने, मुद्दा चलाउने र जरिवाना गर्ने प्रशासन र ठूला पहुँचवालाहरू सामु नतमस्तक झै देखिएको छ ।  केही स्थानीय सामुदायिक वनको जमिनबाट हट्न तयार पनि छन् । तर मुख्यबजार बसेको राजमार्ग आसपासका वनको जग्गामा भने बसोबास झनझन् बाक्लिँदै छ । तथ्यांक अनुसार नवलपरासीको ७ सय ५१ दशमलव ३१  हेक्टर सरकारी तथा सामुदायिक वन अतिक्रमण भइसकेको छ । अहिलेसम्म ४ दशमलव ८ हेक्टर वन क्षेत्रमात्र अतिक्रमणबाट मुक्त भएको छ ।   
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्