नेभिगेशन
जीवनयापन

अपाङ्गहरूको सशक्तीकरणका लागि धनुषाको तीन पालिकामा विशेष कार्यक्रम

जनकपुरधाम– धनुषा जिल्लाको तीन वटा स्थानीय तहमा अपाङ्गको समग्र अवस्थामा सुधार गरि आत्मनिर्भर बनाउने उद्देश्यले “समावेशी जलवायु उत्थानशील सामुदायिक विकास” सम्बन्धी विशेष कार्यक्रम सञ्चालन हुने भएको छ ।

सीविएम नेपालको सहयोगमा लाइफ नेपालले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका तथा औरही गाउँपालिकामा अभियान चलाउन लागेको छ ।

अपाङ्गहरूको क्षमता विकासका लागि सिपमूलक प्रशिक्षण दिएर सोही अनुसारको स्वरोजगार गर्नका लागि बिउँ पूँजी पनि प्रदान गर्ने उद्देश्य परियोजनाले लिएको छ । यसका साथै विभिन्न प्रकारको सहयोगी सामाग्रीहरू पनि प्रदान गरिने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको २५ वडाका साथै ती दुई अन्य पालिकाहरूमा सञ्चालन हुने कार्यक्रमबाट अपाङ्गता भएकाहरूमा आत्मबलको विकास हुने लक्ष्य पनि लिइएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए।

स्थानीय सरकारको रुपमा रहेको सम्बन्धित पालिकाहरूको सहमति र सहकार्यमा शुरु हुने सो कार्यक्रमले पालिकाहरूको स्वास्थ्य, शिक्षा तथा कृषि नीतिलाई अपाङ्गमैत्री तथा समावेशी बनाउने भएको छ ।

विभिन्न अवस्थामा आउने सबै प्रकारको परिस्थितिको सामना गर्नका लागि बनाइने हरेक नीति तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउनका लागि प्रयास गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले बनाउने हरेक योजना तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान भवनलाई अपाङ्गमैत्री बनाउनका लागि चाडै लिफ्ट जडान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधाम उपमहानगरपालिकामा अपाङ्गहरूको समस्याका लागि आएको यस परियोजनाको कामलाई सहजीकरण गर्दै सहकार्यका लागि तत्पर रहने बताइन् । उनले जनकपुरधाम उपमहानगरपालिकामा मस्तिष्क सम्बन्धी समस्या बढी भएको बताइन् ।

मिथिला विहारी नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद यादवले आफ्नो नगरपालिकामा भएका अपाङ्गहरूको समस्या समाधानका लागि पूर्ण रुपमा सहयोग गर्ने बताउँदै अपाङ्गको मनोबल बढाउने किसिमको नीति तथा कार्यक्रम ल्याउने बताए ।

औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले गाउँपालिकाले अपाङ्गहरूको समस्या समाधान गर्नका लागि उचित बजेट तथा कार्यक्रम गर्ने बताउँदै गाउँमा शुरु हुने विशेष कार्यक्रमलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताए। मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले सरकारी भवनको निर्माण गर्दा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले विभिन्न प्रकारको तत्त्वको अभावका कारण तथा दुर्घटनाका कारणले मान्छेहरू अपाङ्ग हुने गरेको बताउँदै नेपालमा कूल जनसङ्ख्याको २ प्रतिशतमा अपाङ्गताको समस्या भएको बताए ।

ती तीन पालिकाको १ हजार ५ सय अपाङ्गहरूको समग्र विकासका लागि परियोजनाले काम गर्ने उद्देश्य लिइएको छ । कार्यक्रममा विभिन्न क्षेत्र व्यक्तिहरू सहभागी भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्