नेभिगेशन
जीवनयापन

अनलाइन गेम मार्फत जुवा खेलाउने गिरोह दमकबाट पक्राउ

झापा– अनलाइन गेम मार्फत जुवा खेलाउने र कन्सल्टेन्सी मार्फत सरकारी कागजात तथा दस्तखतहरूको किर्ते गरी दुरुपयोग गर्ने गिरोहलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेट मार्फत विभिन्न गेमहरूका नाममा जुवा खेलाउने र जापान पठाउने, आयल्सका कक्षाहरू सञ्चालन गर्ने बहानामा सरकारी कागजात र दस्तखतहरू दुरुपयोग गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकमा गरेको पत्रकार सम्मेलनमा जनाइअनुसार पक्राउ पर्नेहरूमा दमक ८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्धय दमक ८ का २५ वर्षीय सतप्रकाश साह र दमक ७ का २७ वर्षीय राजु श्रेष्ठ, कमल २ स्थायी घर भएका योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्रका सञ्चालक दमक ८ का राजु लिम्बु रहेका छन् । अनाधिकृत रुपमा कन्सल्टेन्सीमा अध्ययन तथा शैक्षिक परामर्शका क्रममा विद्यार्थीहरू आउँदा ल्याएका कागजातका आधारमा एनसेलका सिमहरू निकाल्ने, अनुमति बिना सयौँ विद्यार्थी तथा अन्य सर्वसाधारणका नाममा कागजातहरू जुटाएर इसेवा आइडी मार्फत रु ८८ लाख रुपैयाँ सम्म कारोबार गरेको प्रहरीको दाबी छ । प्रहरीले पदमा कन्सल्टेन्सी र फोटो स्टुडियोबाट ठुलो सङ्ख्यामा ल्यापटप, मोबाइल र प्रयोगमा आएका तथा नआएका सिमहरू समेत बरामद गरेको छ । सो कन्सल्टेन्सी, ब्रिटिस तालिम केन्द्र र फोटो स्टुडियोका सञ्चालकहरूको मिलेमतोमा शिक्षा मन्त्रालयको स्ट्याम्प (छाप ), दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको नाममा नक्कली तथा किर्ते छापका साथै विभिन्न विद्यालय र प्रधानाध्यापकहरूको नाममा छाप र दस्तखतहरू किर्ते गरेर जापान जान चाहने विद्यार्थीहरू, ब्रिटिस आर्मीमा भर्ती हुन चाहने सर्वसाधारणका छोराछोरीलाई झुक्याउने, उनीहरूका नाममा सिमहरू निकालेर इसेवा आइडीहरू बनाएर अनलाइन गेम सट्टेबाजी खेल खेलाउने धन्दा चलाएको प्रहरीको भनाई छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीप गिरी नेतृत्वको टिमले गहिरो अनुसन्धानपछि सो गिरोहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए । पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी गिरीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्