नेभिगेशन
जीवनयापन

गोसाइँकुण्ड पुगे १० हजार भक्तजन

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगेका छन् । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिक समेत १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन् । जनैपूर्णिमा पर्वको पावन अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन नीलाद्रि पर्वत पुगेका छन् । समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगतलाई बचाएका कारण हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ । पौराणिक कथनअनुसार भगवान् शिवले नीलाद्रि पर्वतको पहाडमा त्रिशूली बजारी उत्पन्न गराउनुभएको पवित्र जलले बनेको नीलो दहमा विराजमान रहेको र उक्त दहमा डुबुल्की मारेपछि उकालो जाँदा लागेको थकान सबै समाप्त हुने गरेको अनुभव समेत भक्तजनमा रहिआएको छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न उत्तरी रसुवाको स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका २५ जना जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका साथै उद्धारका लागि यहाँ कार्यरत नेपाली सेना विष्णुदल गण एवं सशस्त्र प्रहरी २० नम्बर गुल्म रसुवा तैनाथ रहेको अध्यक्ष डिएमले जानकारी दिए । वातावरणको संरक्षण गर्दै गोसाइँकुण्ड मेला, २०७९ लाई व्यवस्थित र मर्यादित बनाई समग्रमा ८० जनाको जनशक्ति परिचालन भइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । विगतका वर्षभन्दा २०७९ को गोसाइँकुण्ड मेला व्यवस्थित भएको उक्त समितिले दाबी गरेको छ । कुण्डको क्षेत्र निरन्तर सफा राख्न यो वर्ष विशेष व्यवस्था मिलाइएको बताइएको छ । दक्षिणी रसुवाको बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण सडक मार्ग क्षति भए तापनि स्थानीय नागरिकको सुझाव, प्राविधिकको परामर्शमा प्रमुख जिल्ला अधिकारी एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीको स्थलगत निरीक्षणले समयमै वैकल्पिक मार्ग तय गरिएका कारण धार्मिक यात्रु सहजरूपले गोसाइँकुण्ड प्रस्थान गरेका थिए । धुञ्चेमा ट्राफिक व्यवस्थापनका कार्य राम्रो भएको प्रतिक्रिया दिँदै तीर्थ यात्रु अच्युत तिम्सिनाले भने ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो भएको बताए । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै