नेभिगेशन
जीवनयापन

खेतीपाती नहुने जग्गा सदुपयोग गर्न निजी वनमा आकर्षण

विराटनगर- सव डिभिजन वन कार्यालय कटहरीका अनुसार मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वन बाट आपूर्ति हुने गरेको छ । मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय ५४ हेक्टर क्षेत्रफलमा वन रहेको छ । वातावरण संरक्षण, हरियालीको विकास र व्यवसायका लागि उत्तम मानिएको वनले मानिसको जीविकोपार्जनमा पनि मद्दत गरेको छ । खेतीपाती नुहने सुख्खा भइरहने जग्गालाई सदुपयोग गर्न मानिस निजी वनमा आकर्षित देखिएका छन् । ‘घर घरमा रुख रोपौँ, हरियाली बढाऔँ’ नारासँगै ‘खुशीयालीका लागि हरियाली’ भनिएको छ जसले जङ्गलको विस्तारमा सहयोग गरेको छ । यस वर्ष मोरङमा १२ हजार थान रुख कटान भएसँगै नयाँ १२ लाख बिरुवा रोपेको डिभिजन प्रमुख प्रमेश्वर पासमानले जानकारी दिए । उनले एक रुख काट्दा २५ रुख रोप्नुपर्ने भन्दै मोरङमा दुई सय ३२ हेक्टर जग्गामा सार्वजनिक वन लगाइएको जानकारी दिए । सार्वजनिक वन मन्दिर, विद्यालय, मसानघाट, नदी किनार, सडक किनार र संस्थानको जग्गामा लगाइएको छ । स्थानीय पालिकाले वृक्षरोपणमा त्यति ध्यान नदिए पनि पालिका क्षेत्रमा कटान हुने एक रुखमा रु पाँच हजार राजस्व सङ्कलन गरिरहेको छ । यो राजस्व बढाउन र खाली जग्गामा हरियाली बढाउन पालिकाले वर्षेनी वृक्षरोपण गर्नुपर्ने भनिएको छ । गएको वर्षमा वन विभागको समन्वयमा मोरङको दरैया क्षेत्रमा छ सय ६० तथा अशोक चोकदेखि विश्वकर्मा चोकसम्म थप बिरुवा रोपेको बताइएको छ । मोरङमा ८२ मध्ये १० सरकारी नर्सरीमा वर्षेनी १२ लाख बिरुवा उत्पादन भइरहेको छ । प्रत्येक तीन किमीमा नर्सरी भएमा वृक्षरोपण कार्यक्रम प्रभावकारी हुने वनको ठम्याई छ । वन छ त हामी छाँै भन्ने अवधारणालाई सबैले पालना गरी वृक्षरोपणमा ध्यान दिनुपर्ने आवश्यकता देखाइएको छ । मोरङको तेतरिया निजी वन लगाउने तेतरलाल माझीले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन् । कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रममार्फत उनले १८ कठ्ठा जग्गामा एक हजार ४० टिक रुप रोपेका छन् । रुखहरु हुर्किसकेको छ । रुख वरपर खाली जग्गामा तरकारी खेती गरेका माझीले गएको वर्षमा रु ३० हजार पुरस्कार हात पारेका छन् । निजी वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ग्रामथान गाउँपालिका-४ मा निजी वन लगाएको धनीराम चौधरीले रु एक लाख ८५ हजार अनुदान प्राप्त गरेका छन् । तीन बिघा पाँच कठ्ठा जग्गामा उनले टीक नौसय, कागती दुई सय, मसला दुई हजार र केही संख्यामा मलेसियन साल लगाउनुभएको छ । वनसँगै उहाँले भैँसीपालन गरेर थप आम्दानीको स्रोत बनाएका छन् भने निजी वन लगाइएकोमा गर्ब गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै