नेभिगेशन
जीवनयापन

राहत र उद्धारलाई प्राथमिकता दिन प्रवक्ता महतको आग्रह

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अविरल वर्षाका कारण क्षति बेहोरेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरुको उद्धार गर्न आग्रह गरेका छन् । प्रवक्ता महतले आज एक विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काठमाडौँ, नुवाकोट, रसुवालगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको भन्दै राहत र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । ‘गए राति परेको अविरल वर्षाका कारण काठमाडौँ, नुवाकोटका विभिन्न क्षेत्र र रसुवामा समेत ठूलो क्षति पुगेको छ, बाढीपहिरोले पुर्‍याएको क्षतिको उद्धार र राहत कार्यमा लाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु’, उनले भने । जोखिमयुक्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । प्रवक्ता डा. महतले प्राकृतिक विपद्को घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहतमा सरिक हुन सबैलाई अनुरोध समेत गरेका छन । सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्‍याएको सडक, पुल, खानेपानी आयोजना, सिँचाइ आयोजनालगायतका संरचनाको अनुगमन मूल्याङ्कन गरेर चाँडो मर्मत सम्भार र पुनर्निर्माण गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै