नेभिगेशन
जीवनयापन

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन आदेश

काठमाडौँ - सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो । आगामी सोमबार अर्थात यही साउन ३० गते उक्त अस्पताल हटाउने वा नहटाउने विषयमा सुनुवाइ हुनेछ । अदालतले उक्त संरचना हटाउनु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न समेत आदेश दिएको छ । थापाथलस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफै पुगेर सूचना टाँस गरेका थिए । सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १-८-१-१ जग्गा अस्पतालले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरू (क्यान्टिन भवन लगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’ महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्च अदालतमा मङ्गलबार रिट निवेदन दायर गरेको थियो । उक्त रिट निवेदनमा आज प्रारम्भिक सुनुवाइ गर्दै आगामी सोमबार सुनुवाइ नभएसम्मका लागि नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न आदेश दिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै