नेभिगेशन
जीवनयापन

नागरिकताको अपमानजनक नाम सच्याउन निवेदन दर्ता

दैलेख - नागरिकताको अपमानजनक नाम सच्याउनका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा आज (मङ्गलवार) निवेदन दर्ता भएको छ । नागरिकतामा भएको ‘कुकुर कामी’ नामले अपमान भएकाले कविराम कायम गरी नागरिकता पाऊँ भन्दै भगवतीमाई गाउँपालिका ३ मेहेलतोलीका कविराम कामीले निवेदन दर्ता गराएका छन् । नाम कविराम हो भन्दा भन्दै त्यस बेला गाउँका केही व्यक्तिले जिस्काएर भनेको भरमा प्रधानपञ्चले सिफारिस गरेको आधारमा नागरिकता टोलीले दिएको नागरिकतामा ‘कुकुर कामी’ लेखिएको र यसले आफूलाई अपमानबोध भएको निवेदनमा उल्लेख गरिएको छ । ‘त्यस बेलाको शोषण दमनकारी शैलीबाट नागरिकतामै अपमानबोधक नाम लेखिएको कुरा आमसञ्चारमाध्यममा चर्चाको विषय बनेपछि गृह मन्त्रालयले सोमवार मात्रै पहिले वितरित नागरिकतामा त्यस्ता अपमान बोध गराउने नामहरू सच्याउन गरेको परिपत्रको आधारमा मैले सिफारिस गरेको हुँ’, भगवतीमाई गाउँपालिका-३ का अध्यक्ष मानबहादुर खड्काले भने । कविरामको निवेदन पेस भए लगतै गृह मन्त्रालयमा परामर्श गरेको र मन्त्रालयको परिपत्रले विधि, प्रक्रिया पूरा गरी नागरिकताको नाम सच्याउन भनेकोले छिटै कविराम कामी कायम गरी नागरिकता दिइने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजनक नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । नाम सच्याउन परिपत्र गरिसकेपछि पनि ती व्यक्तिका मतदाता नामावली, जग्गाधनी पुर्जा, राहदानीसमेत बदल्नुपर्ने, नाम सच्याइने व्यक्तिका श्रीमान्-श्रीमती, छोराछोरी, नातिनातिना समेतको कागजपत्र संशोधन गर्नुपर्ने भएकोले ती व्यक्तिले आफूलाई अपमान लागेको नाम संशोधनका लागि निवेदन दिने र प्रशासनले सच्याउनेबारे छुट्टै निर्देशिका पठाउन लागिएको गृह मन्त्रालयका नीति, योजना तथा मूल्याङ्कन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले बताए । गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजनक नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालय गरेको परिपत्रकै आधारमा संशोधनको काम सुरु गर्नुपर्ने मानव अधिकार रक्षक सञ्जाल दैलेखका जिल्ला संयोजक विशाल सुनारको सुझाव छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै