नेभिगेशन
जीवनयापन

बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड

काठमाडौँ– – बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । गाडीको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सीमाना नजिकै पार्किङमा राखिएका ती गाडीमा गएराति तोडफोड भएको हो । गाडी कसले तोडफोड गर्‍यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने आफूलाई घटना बारे पूर्ण जानकारी आइनसकेको बताए । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले फोहरलाई लिएर राजनीतिक षड्यन्त्र भइरहेको आरोप लगाए । फोहरका कारण स्थानीयबासिन्दा प्रभावित भइरहे पनि उनीहरुको पक्षमा काम हुन नसकेको उनको भनाई छ । फोहर बोक्ने गाडीमा तोडफोड भएपछि फोहोर ढुवानी प्रभावित हुने भएको छ । काठमाण्डौका धेरै ठाउँमा लामो समयदेखि नियमित फोहोर उठ्न सकेको छैन । कहीँ कतै फोहोर संकलन भइरहेकोमा फेरि असर पर्ने भएको छ । फोहरका कारण काठमाण्डौ दुर्गन्धित बनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै