नेभिगेशन
जीवनयापन

के सत्तारुढ दलहरु एउटै चिन्हमा चुनाव लड्दै छन् ?

काठमाडौं – निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आव्हान गर्दा तालमेल गरेर निर्वाचनमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिन्ह लिएर उम्मेद्वारी दिन पाउने व्यवस्था गरेसँगै यो छलफलको विषय बनेको छ ।  स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा पनि फरक फरक चुनाव चिन्ह भएकाले भारी मत बदर भएको भन्दै आयोगको उक्त निर्णयलाई गठबन्धनका दलहरूले स्वागत गरेका छन् । श्रम तथा रोजगार मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले निर्वाचन आयोगले गरेको व्यवस्थालाई स्वागतयोग्य भएको बताए ।  मन्त्री कुँवरले भने, ‘त्यो त अब निर्वाचन आयोगले ढोका खोलिदिएको हो । अब कुनै राजनीतिक पार्टीहरू एउटा मोर्चा बनाएर चुनाव लड्न चाहन्छन् भने, उनीहरूले आआफ्नो निर्वाचन चिन्ह लिएर लडिरहनु परेन, एउटै चुनाव चिन्हबाट पनि चुनाव लड्न सक्छन् भन्ने उसले दृष्टिकोण अघि सारेको हो, कानूनी बाटो खोलिदिएको हो ।’ गठबन्धन गरेर निर्वाचनमा जाँदा धेरै मत बदर हुने भएकाले पनि निर्वाचन आयोगले यस्तो निर्णय गरेको हुनसक्ने कुँवरको भनाई छ । सत्तागठबन्धन भित्रका वामपन्थी दलहरूले निर्वाचनमा साझा निर्वाचन चिन्ह लिएर लड्दा फाइदा हुने तर्क गर्दै आएका छन् । उनीहरूले सके गठबन्धनको साझा चुनाव चिन्ह, नसके चार दलको मात्रै भएपनि साझा चुनाव चिन्ह लिएर निर्वाचनमा जानुपर्ने मनसाय बनाएका छन् । तर नेपाली कांग्रेसले भने रूख बाहेक अन्य चुनाव चिन्ह लिएर निर्वाचनमा जान नसकिने बताएको छ । गठबन्धनका दलहरूले साझा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने हो भने, रूख चिन्ह लिनु पर्ने कांग्रेसको धारणा छ ।  पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता शंकर भण्डारीले सत्तागठबन्धनका दलहरूले साझा निर्वाचन चिन्ह नै लिएर निर्वाचन लड्ने हो भने रुख चिन्ह लिएर लड्नु पर्ने बताए । नेता भण्डारीले भने, ‘स्थानीय तहको निर्वाचनबाट पनि कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । त्यसले गर्दा मलाई लाग्छ, गठबन्धनमा रहेका दलहरू कांग्रेसको रूख चिन्हमा चुनाव लड्नु हुन्छ भन्ने हामीले विश्वास गरेका छौं ।’ निर्वाचन आयोगले उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको दाबी गरेपनि नेकपा एमालेले भने उक्त व्यवस्थाको शंका गरेको छ । सरकार र निर्वाचन आयोगको मिलेमतोमा गठबन्धनलाई फाइदा हुनेगरि सो व्यवस्था गरिएको भन्दै एमालेले आपत्ती जनाएको छ । स्थानीय तहको निर्वाचनमा पनि मतपत्र हरियो बनाइएको प्रति रुष्ट बनेको एमाले, आगामी निर्वाचनका लागि एमाले हराउन सरकारले राज्यका निकाय प्रयोग गर्न खोजेको बताएको छ । नेकपा एमालेका नेता डा राजन भट्टराईले भने, ‘विगतमा यस्तो थिएन, अहिले निर्वाचन आयोगले किन यस्तो गर्ने सोच ल्यायो ? अब कानूनमा भएको व्यवास्था अनुसार हो भने त्यसमा एउटा कुरा हो तर कानूनमै व्यवस्था नभएको कुरा हो भने त त्यो गम्भीर विषय भयो, बेठिक भयो, सत्ता गठन्धनको दबादमा पर्‍यो निर्वाचन आयोग ।’ निर्वाचन आयोगले निश्पक्ष रुपले निर्वाचन गराउनु पर्ने उनको तर्क छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै