नेभिगेशन
जीवनयापन

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर - साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका-८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उनले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए ।

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुगेका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचारपछि घर पठाइएको जानकारी दिए । उनका अनुसार उपचाररत घाइतेको अवस्था गम्भीर भने नरहेको चिकित्सकले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै