नेभिगेशन
जीवनयापन

काठमाडौँमा हर्न बजाउने बढे, ट्राफिक प्रहरी भन्छन्– 'नो हर्न’ प्रभावकारी हुँदैछ

काठमाडौँ– उपत्यका भित्र सवारी साधन चलाउँदै हुनुहुन्छ र हर्न बजाउने बानी छ भने होसियार ! जुनसुकै बेला पनि कारबाहीमा पर्न सक्नु हुन्छ । काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएको छ । हर्न निषेध गरिए पनि बाटोमा हर्न बजाउनेको घैँटोमा घाम लागेको भने पाइदैन ।  ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट २०७४ साल बैशाख १ गतेदेखि लागू गरिएको ‘नो हर्न’ अभियानलाई पुन: प्रभावकारी बनाउन थालिएको बताउँछन् । ‘अत्यावश्यक ठाउँमा हर्न निषेध छ’ एसएसपी भट्टले भने, ‘ओभरटेक गर्नका लागि, जेब्रा क्रसिङमा पैदल यात्रुलाई रोक्नका लागि, रातो लाइट खुल्दा हतार गरेर हर्न बजाइयो भने कारवाहीमा परिन्छ ।’ माथि उल्लेखित ‘नो हर्न’ को नियमलाई पालना गरिरहेको पाइदैन । बाटोभरि स्कुटर र बुढापाकाले चलाइरहेको मोटरसाइकललाई हेपेर हर्न बजाउँदै ओभरटेक गरिएको थुप्रै घटनाहरू देख्न पाइन्छन् । सबै ठाउँमा प्रहरी नहुने भएकाले पनि हर्न चलाउनेहरूले प्रहरी हेरेर इरिटेट पार्ने गरी हर्न बजाएको सुनिन्छ र देखिन्छ ।  डिउटीमा रहेका ट्राफिक प्रहरी त्यस्तो सुनिने भए  पनि कसले गरेको हो भन्ने पत्ता लगाउन गाह्रो भइरहेको बताउँछन् । कोटेश्वर चोकमा ट्राफिक व्यवस्थापनको लागि बसेका एक ट्राफिक प्रहरी भन्छन्, ‘कतिपय चालकहरूले काठमाडौँमा नयाँ प्रवेश गर्नु भएको हुन्छ र हर्न बजाउनु हुन्छ । तर, कतिपयले भने जानीबुझी यस्तो काम गर्छन । तर, हामी अर्को तर्फ फर्केर बसेका बेला कसले बजायो भन्ने पनि थाहा हुँदैन ।’ प्रहरीले २०७४ सालमा अभियान चलाउनु भन्दा पहिला अत्याधिक हर्न बज्ने गरे पनि अहिले कम भएको सडक छेउका पसलेहरू बताउँछन् । नयाँ बानेश्वर चोकमा कपडा पसल सञ्चालन गरेका रमेश प्रधान पहिला ‘कान नै थुन्नु’ पर्ने गरी हर्न बजाउने गरेको अनुभव सुनाउँछन् ।  उनले भने, ‘यो आकाशे पुल थिएन । मान्छेहरू बाटो यहीबाट काट्ने गर्दथे । जाममा बसेका सवारी साधनले हर्न बजाएर कान नै थुन्नु पर्ने अवस्था सिर्जना हुन्थ्यो । यो ७४ पछि अलि कम छ । उपत्यका भित्र आवश्यक स्पीडमा सवारी चलाउँदा हर्न बजाउने पर्ने पनि हुँदैन ।’ आफू पनि सवारी साधन चलाउने गरेका उनी हर्न नबजाएर हिड्ने गरेको अनुभव सुनाउँछन् ।  तर, ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी भट्ट भने कोरोना कहरले सवारी साधन चलाउन करिव २ वर्ष रोकिएपछि अहिले पुन: हर्न बजाउने समस्या सिर्जना भएको सुनाउँछन् । अहिले हर्न बजाउन थालेपछि प्रहरीले अभियानलाई पुन: सञ्चालन गरेको उनको भनाइ छ। ‘कोरोनाको बेला सवारी कम चल्यो । त्यो बेलामा हर्न बजाउन पाइदैन भन्ने नियम छ भनेर पनि धेरैले विर्से । त्यसैले पनि अभियान पुन सञ्चालन गर्नु परेको हो,’ उनले भने।  ‘हामी सबै आत्मअनुशासित हुनु पर्छ’, प्रवक्ता एसएसपी भट्ट थप्छन् ‘प्रहरीको अनुरोध पनि हो । सबै चालकहरुले आत्म अनुसासित भएर सवारी चलाउनु भयो भने हामीले कारवाही गरिरहनु पर्ने वाध्यता पनि हुँदैन। यहाँहरुको समय पनि बर्वाद हुँदैन । अत्यावश्यक ठाउँमा बाहेक हर्न निषेधलाई पूर्ण रुपले पालना गरिदिनु हुन्छ भन्ने अपेक्षा छ।’ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौँ महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेका प्रवक्ता भट्टले जानकारी दिए। उनले पद्मकन्या कम्पसका १५० जना भोलेन्टियरलाई परिचालन गरेर प्रभावकारी बनाउन तर्फ लागेको जानकारी दिए।  सवारी साधनबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ।  यसले इरिटेसन एकदमै धेरै बढाइरहेको पाइएको छ। ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने भएकाले व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको उनको भनाइ छ । बाटोमा सवारी गुडाउँदा धैर्य राखेर गुडाउनु पर्ने प्रवक्ता भट्टले जानकारी दिए। जनचेतनाको कमीले यस्तो हुने हुँदा चेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको उनको भनाइ छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै