नेभिगेशन
जीवनयापन

नेपालमा औषधीजन्य लागूऔषधको प्रयोग बढ्दो, यी हुन् कारोबारका मुख्य ५ हब

काठमाडाैँ– लागूऔषधको कुलत नेपाली युवामाझ ठूलो समस्याका रुपमा देखा परेको छ । वार्षिक रुपमा नेपालमा लागूऔषधका प्रयोगकर्ता थपिदै गएका छन् ।

लागूऔषधको समस्याबारे  अधिकांश मानिसहरू जानकार र सजग भएपनि यस्तो प्रयोगकर्ताको सङ्ख्यामा कमी आउन भने सकेको छैन । बरु साथीसँगाती र लहलहैमा लागेर कुलतमा फस्नेहरुको संख्या बढ्दै गएको छ । 

कति छन् लागूऔषध प्रयोगकर्ता ? 

गृहमन्त्रालयका अनुसार २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागूऔषधका प्रयोगकर्ता रहेका छन् । ती प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको छ । यो संख्या झन्डै ६ देखि ७ प्रतिशत हुन आउँछ ।

मन्त्रालयका अनुसार प्रयोगकर्ताहरूको संख्या वार्षिक ५.०६ प्रतिशतले वृद्धि भइरहेको छ । मन्त्रालयका अनुसार गणनामा नआएका प्रयोगकर्ताको संख्या पनि धेरै हुनसक्छ ।

कारागार व्यवस्थापन विभागको गत असार सम्मको तथ्याङ्क अनुसार नेपालका कारागारमा रहेका कुल २६ हजार ५३७ बढी कैदीबन्दी मध्ये १८ प्रतिशत अर्थात ४ हजार ७८८ जना कैदीबन्दी लागूऔषधका मुद्दामा रहेका छन् ।

कुलतमा कलेज पढ्ने युवा बढी

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार लागूऔषध प्रयोगकर्तामा सबैभन्दा बढी युवा देखिएका छन् ।

त्यसमा पनि कलेज पढ्ने र हुनेखाने परिवारका बढी छन् । ब्युरोका एसएसपी विकासराज खनाल भन्छन्, ‘अहिले कुलतमा फस्ने मध्य सबैभन्दा बढी कलेज लेभल अध्ययन गर्ने युवापुस्ताका नै छन् । साथीहरूको लहलहै, देखासेखी लगायत कारणले उनीहरू कुलतमा फसेको देखिन्छ ।’

प्रहरीको तथ्याङ्कअनुसार कुल प्रयोगकर्ता मध्य २० देखि २४ वर्ष मुनिका ३३ प्रतिशत, २५ देखि २९ वर्षमुनिका २२ र १५ देखि १९ वर्षमुनिका २० प्रतिशतले लागूऔषधको प्रयोग गरेको पाइएको छ ।

अध्ययन अनुसार प्रयोगका हिसावमा नेपालमा सबैभन्दा ठूलो समस्या भनेको औषधीजन्य लागूऔषध नै हो । जुन लागूऔषध सुई मार्फत प्रयोग गरिन्छ । लागूऔषध सेवन गर्ने दुर्व्यसनीमा ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुर्व्यसनी सुईमार्फत लागूऔषध प्रयोग गरेको पाइन्छ ।

प्रहरीका अनुसार, नेपालमा औषधीजन्य लागूऔषध उत्पादन हुँदैन । अहिले सम्म जतिपनि औषधीजन्य लागूऔषध नेपाल भित्रन्छ त्यो सबै भारतबाट नै हो । भारत सँगको खुला सिमाना र चेकजाँचमा भएको फितलोपनका कारण पनि समस्या थप बढिरहेको छ । 

यी हुन् लागूऔषध कारोबारका मुख्य ५ हब केही महिना अघि गृह मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार नेपालका लागूऔषध कारोबार हुने मुख्य ५ जिल्ला छन् ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार नेपालको सबैभन्दा बढी लागूऔषधको कारोबार काठमाडौंमा हुन्छ । त्यसपछि क्रमश: रूपन्देही, कास्की, कैलाली र पर्सामा हुन्छ । 

मन्त्रालयका अनुसार नेपालमा अहिले लागूऔषधी प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । प्रवक्ता पोखरेलले भने, ‘नेपालमा पछिल्लो समय लागूऔषधको पहुँच नरहेको ठाउँ नै छैन भन्दा पनि हुन्छ, शहरी क्षेत्रका युवाहरुमा त झनै यसको प्रभाव बढी छ ।’ उनका अनुसार लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गयो जाँदा अपराधीक घटना पनि बढ्न सक्छ । 

नेपालमा लागूऔषधको इतिहास ? 

जानकारहरुका अनुसार नेपालमा लागूऔषधको कारोबार र प्रयोग सन् १९६० को दशकमा शुरु भएको पाइन्छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, सन् १९६० को दशकमा नेपालमा विदेशी पर्यटक भित्रन थालेसँगै हिप्पी संस्कृति पनि देखिन थाल्यो । 

मल्ल भन्छन्, ‘नेपालमा जुनबेला हिप्पी संस्कृतीले प्रवेश पायो त्यही समयदेखि लागूऔषधको कारोबार र प्रयोग पनि देखिन थालेको हो ।’ मल्लका अनुसार त्यो समयमा नेपालमा लागूऔषध सम्बन्धि कानून कडा थिएन, त्यसैको फाइदा उठाउँदै लागूऔषधको प्रयोग गरिएको हो । 

नियन्त्रणको पाटो 

नेपाल प्रहरीले लागूऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याए पनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन । यतिसम्म कि कुन लागूऔषध हो ? कुन होइन ? त्यसलाई सहजरुपमा छुट्याउने प्रविधि समेत छैन प्रहरीसँग । 

लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी खनाल भन्छन्, ‘अनुमानका भरमा लागूऔषध चिन्नुपर्ने अवस्था छ ।’ नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ला लागूऔषध कारोबार र प्रयोगको  नियन्त्रका लागि निम्न कुरा सुझाउँछन् । 

– सिमा क्षेत्रमा सुरक्षा चेकजाँज कडा पार्ने – चिकित्सकको प्रेस्क्रिप्सनविना औषधी बिक्रीवितरण नगर्ने – लागूऔषध बिक्रीवितरण तथा खरिद गरेको अभिलेख राख्ने – लागूऔषध बिक्रीवितरण गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने – लागूऔषध नियन्त्रणमा जनचेतना वृद्धि गर्ने – अभिभावकले छोराछोरीलाई निगरानी गर्ने र सचेत गराउने 

पूर्वडिआईजी मल्लका अनुसार लागूऔषध नियन्त्रण प्रहरी एक्लैले मात्र सम्भव छैन । त्यसका लागि सवै पक्ष सतर्क हुनुपर्छ । अझ मुख्य कुरा यसको असर बारे सचेतना फैलाउनु आवश्यक छ । अनि नियन्त्रण गर्न बसेका नियमनकारी नियकालाई पनि समय सापेक्ष प्रविधियुक्त बनाइनु पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै