नेभिगेशन
जीवनयापन

मिटरब्याज पीडित भन्छन्– ‘मरेपछि सबै जग्गा हडप्छु भन्दै साहु भागेर हिँडेको छ'

पात्र १ : उमेरले ७६ वर्ष पार गर्‍यो । छोरा र नाति पुस्ताको सल्लाहकार हुने बेला प्रेमनारायण कोहिरी माइतीघरको सडकमा बसेका छन्।

६५ वर्षकी श्रीमतीसहित उनी माइतीघरको सडकमा धर्ना बसेको ७ दिन भयो । राष्ट्रले सम्मान गर्नु पर्ने ज्येष्ठ पुस्ता सडकमा अनशन बसिरहेको सरकारले नदेखे झै गर्छ ।  

कुरा २०७३ सालको हो । प्रेम नारायणले घर बनाए । घरको छत हाल्नका लागि गाउँकै साहुसँग ९ लाख ऋण लिए  । उनले लिएको नौ लाख ऋण व्याज सहित १६ लाख दिए । साहुले बन्दकी बनाएको उनको जग्गा फिर्ता गरेनन् । साहुसँग जग्गा फिर्ता लिन खोज्दा ४२ लाख ऋण पुगेको बताए । 

प्रेम नारायण ४२ लाख पनि तिर्न तयार छन् । तर, साहु जग्गा फिर्ता गर्न तयार छैनन् । ‘म मरेपछि सबै जग्गा हडप्छु भन्दै भागेर हिँडेको छन्’ गर्मीले पग्लिएला झै भएको अलकत्रा माथि बसेका प्रेमनारायण भन्छन्, ‘हामी माथि अन्याय भयो। सबै जग्गा साहुले हडप्ने तयारी गरिरहेको छन्। ९ लाख लिएको १६ लाख तिरिसकेको छु ।’

प्रेमनारायण दम्पती छोराले पनि माया नगरेको बताउँछन् । एक छोरा र एक छोरीका बाबुआमा उनीहरु ऋणकै कारण छोराको हेलामा परेको बताउँछन् । 

पात्र २ : डिलसरादेवी पनि माइतीघरको तातो सडकमै छिन् । आफूले साउदी अरब र छोराले मलेसिया बसेर कमाएको पैसा सिधै साहुको खातामा पठाउँदा पनि नपुगेपछि उनी अहिले हेलामा परेकी छिन्  । १ लाख रुपैयाँ लिएकी उनले ६ वर्ष ६ महिना साउदी अरबमा कमाएको पैसा पठाइन ।

छोराले ३ वर्ष मलेसियामा बसेर कमाएर पठाए । आमा छोराको कमाई मिलाएर १ लाखको १७ लाख पैसा तिरिसक्दा पनि बन्धकीमा भएको खेत फिर्ता भएन ।

खेत फिर्ता नभएपछि छोराले आफूले कमाएको पैसा पनि माग्न थाले । उनका श्रीमान यही पिरले थलापरेका छन् । उनी आफूले साउदी फिर्ता हुन ठिक सम्झेर पुन: साउदी जान्छिन् र कमाएर व्यवहार सुल्झाउँछिन्

लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा विदेशिएकी उनी उमेरले उकालो चडिरहेका बेला माइतीघरको तातो सडकमा छन् । आफूले १ लाखको बदलामा दिएको १७ लाख अन्याय भएको भन्दै फिर्ता दिलाइदिन सरकारसँग उनको गुहार छ । 

रामकवल चमार, खुस्बु निसा, अम्बिका महत्वको पनि माथिका पात्रहरूका प्रतिलिपि हुन् । गाउँमा भएका मिटरब्याजको आतङ्कमा परेका उनीहरु न्यायका लागि माइतीघरमा छन् । विगत लामो समयदेखि माइतीघरमा बस्दा पनि कसैले उनीहरूको समस्याका बारेमा सोधी खोजी नगरको उनीहरूको गुनासो छ। 

साहुको ऋणका कारण प्रेसर बढेर बुढाको मृत्यु भएपछि खुस्बु न्याएका लागि काठमाडौँमा आएकी छन् । राम कवल चमार पनि साहुले  ऋण भन्दा सायौँ गुणा फिर्ता गर्दा पनि अझै पैसा बाँकी छ भनिरहेको कचकच सहन नसकेर काठमाडौँ आएका हुन् ।

त्यस्तै, अम्बिका महताे आफ्नो जग्गा अरुकैले बेचिसकेको खबर पाएपछि न्याय माग्दै हिडेकी छन् । 

यसअघि १७ दिनसम्म आन्दोलन गरेपछि गृहमन्त्रालयको आश्वासनमा न्याय पाउने अपेक्षा राख्दै घर फिर्ता भएका उनीहरु १ महिनापछि पुन: काठमाडौँको माइतीघर पुगेको ब्याज पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता बताउँछन् ।

काठमाडौँको माइतीघर पुगेको ब्याज पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता बताउँछन् । ‘साहुले हामीलाई भूमिहीन बनाए । एक लाख रुपैयाँ ऋण दिएर तीन लाखको कागज बनाउने अनि मिटर ब्याज जोडेर साहुहरूले धेरैको जग्गा हडपिसके’ गुप्ताले भने । ‘भूमिहीन बनाएका किसान–मजदुरको जमिन, ज्याला लिएको पैसा फिर्ता गरियोस् भन्ने हाम्रो माग पूरा नभएकोले हामी फेरि धर्नाको लागि आएका हौं ।’ नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। २५ मुद्दा आएका थिए २० मिलायौँ : प्रजिअ पोखरेल  नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आफूसँग आएका मुद्दाहरुमा सहजिकरण गरेको जानकारी दिएका छन् । यसअघि पनि काठमाडौँमा धर्नामा बसेका उनीहरूलाई गृहले फर्काएपछि प्रमुख जिल्ला अधिकारीले बोलाएर मिलाएको जानकारी दिएका हुन्।  उनले भने, ‘मिटर ब्याजीहरू पक्राउ गरेर थुनामा राख्यौँ । २५ वटा मुद्दा परेका थिए । हामीले २० वटा मिलाएका छौँ । ५ वटा मुद्दाहरू प्रमाण नपुगेको र अदालतमा विचाराधीन भएकाले मिलेका छैनन् ।’ अझै पनि अन्यायमा परेकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन नि सक्ने उनको भनाइ छ । प्रजिअ पोखरेल भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय सहजिकरण गर्न तयार छ। अन्यायमा परेकाहरूले अझै पनि प्रमाणका साथ निवेदन दिनु होला । हामी न्याय दिलाउने कोसिस गछौँ ।’ जिल्ला भरीमा भएका घटनाहरू आफूलाई थाहा नहुने र प्रमाणसहित आएपछि न्याय दिलाउने प्रजिअ पोखरेलको भनाइ छ। यसअघि पनि जिल्ला प्रशासनले बोलाउँदा पीडितहरू नआउने र स्थानीय जनप्रतिनिधिको समन्वयमा ल्याउने काम भएको प्रजिअ पोखरेल बताउँछन्।      सबै तस्वीर: लक्ष्मी धिमाल

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै