नेभिगेशन
जीवनयापन

प्रसुति गृहमा ‘बेबी मिल्क बैंक’ स्थापना

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा बेवास्ता गरिरहेको बताएका छन् । मंगलबार प्रसुति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे । उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको सङ्ख्या सबैभन्दा कम देखिएको बताए । उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए । मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताए । उनले सरकारले नि:शुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले नि:शुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिए । उनले नि:शुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । मन्त्री खापुङले कोरोनाको संक्रमण बढिरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गरे । उनले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रुपमा सफल बनाउन आवश्यक रहेको बताए । सातै प्रदेशमा ‘बेबी मिल्क बैंक’ स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गर्न र यो काम आमाको दूध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्