नेभिगेशन
जीवनयापन

मोटरसाइकल धकेल्दै गर्दा खोलाले बगाएर किशोरीको मृत्यु

दाङ । दाङमा स्याला खोलाले बगाएर सोमबार दिउँसो एक किशोरीको ज्यान गएको छ । बंगलाचुली गाउँपालिका-२ स्थित स्याला खोलाले बगाउँदा काठमाडौं महाराजगन्जकी १७ वर्षीया सुनिता बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । सुनिता घोराही उपमहानगरपालिका-१५ रतनपुरस्थित दिदी अनिता बुढा मगरको घरमा आएको बेला सोमबार दुईवटा मोटरसाइकलमा अरु तीन जना साथीहरूसँग घुम्न गएकी थिइन् । बंगलाचुली २ मर्पेसमा घुमेर फर्कने क्रममा मोटरसाइकललाई खोलामा आएको बाढी पार गराउन लाग्दा बगाएको डीएसपी रिजालले जानकारी दिए । खोलामा पछाडिबाट मोटरसाइकल धकेल्दै गर्दा सुनितालाई खोलाले बगाएको थियो । सुनिताको शव घटनास्थलभन्दा दुई किलोमिटर तल घोराही उपमहानगरपालिका-१९ स्थित कटुवा खोला किनारमा फेला परेको थियो । सुनिताका अन्य तीनै जना साथीहरूलाई घटनापछि प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्