नेभिगेशन
विज्ञान प्रविधि

राना थारु समुदायको परम्परागत तीज पर्वको रौनक शुरु

कैलाली - पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत तीज पर्वको रौनक शुरु भएको छ । राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन शुरु गरेका छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् । साउन शुरु भएसँगै तीजको रौनक शुरु हुने राना थारु समुदायले श्रावण तृतीयाका दिन बिधिवत रुपमा तीज सम्पन्न गर्ने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै रहेका राना थारु समुदायले साउन शुरु भएसँगै गाउँ/गाउँमा साउनको डोला हालेर श्रावण तृतीयाका दिन तीज समापन गरेका छन् । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा । संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ । श्रावण तृतीयालाई तीजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् । साउन शुरुसँगै तीजको रौनक छाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज शुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको छ । श्रावण तृतीयाका दिन डोलाको पुजा गर्दै फुकाल्ने चलन छ । श्रावण तृतीयाका दिन ब्रत बसेका महिला साँझ परेपछि नदी किनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका लागि धन सम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन् । रानाथारू संस्कृतिमा परापूर्वकालमा बेहमैयाले तीजको व्रत बसेको र त्यहींबाट यसको शुरुवात भएको विश्वास छ । शिव-पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन शुरु भएको किंवदन्ती छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्