नेभिगेशन
जीवनयापन

मजदुरको आन्दोलनले सुनकोशी-मरिण डाइभर्सनको काम ठप्प

सिन्धुली- पारिश्रमिक बढाउनु पर्ने माग गर्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि सुनकोशी-मरिण डाइभर्सनको काम चार दिनदेखि ठप्प भएको छ । कमलामाई नगरपालिका-२ कुसुमटारस्थित राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजनामा कार्यरत झण्डै पाँच सय मजदुर आन्दोलनका उत्रिएपछि चार दिनदेखि आयोजनाको काम ठप्प बनेको हो ।

आयोजनाले जिल्ला दररेटअनुसारको न्युनतम ज्याला समेत नदिएको भन्दै डाइभर्सनमा कार्यरत मजदुरहरूले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन । सुरुङ निर्माणस्थलमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । सुनकोशी-मरिण डाइभर्सन आयोजनामा ५ सय बढी मजदुर कार्यरत छन् ।

सुरुङमार्ग खन्न ठेक्का पाएको चाइनिज कम्पनीले जिल्ला दररेटअनुसारको न्यूनतम ज्याला नदिएपछि आफूहरू आन्दोलन गर्न बाध्य भएको मजदुरहरूले बताएका छन। उनीहरू जिल्ला दररेटअनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम डेढी हुनुपर्ने, शनिबार तथा अन्य विदाको दिनको हाजिर पाउनुपर्ने, रात्रिकालीन कामको दोब्बर ज्याला हुनुपर्ने, श्रमिकहरूलाई काममा विभेद हुन नहुने, पुरानो कामदार हुँदाहुँदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, दिउँसो खाजा खाने समय आधा घण्टा दिनुपर्ने, कामदारमाथि अभद्र व्यवहार हुन नहुने, प्राथमिक उपचार र दुर्घटना बीमाको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् ।

राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना सुनकोशी-मरिण डाइभर्सनको टनेल निर्माणको ठेक्का चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको छ। उक्त ठेकेदार कम्पनीले जिल्ला दररेट अनुसार अदक्ष (लेवर) को ज्याला ८ सय कायम भएकोमा ठेकेदार कम्पनी कोभ्याकले ८ घण्टा काम गरेको ५८० मात्र दिँदै आएको मजदुर ज्ञानबहादुर नेपालीले बताए ।

आयोजनामा कार्यरत मजदुरहरूले सुरुङ प्रवेश मार्गको काम थालनी भएपछि दररेट अनुसारको ज्याला दिने सहमति भए पनि ५० मिटर सुरुङ तयार भएर थप सुरुङ खन्नका लागि टिबीएम मेशिन जडान भइरहँदासमेत कुनै सम्बोधन नभएकाले आन्दोलन उत्रन बाध्य भएको मजदुरहरुको गुनासो छ । आफ्ना जायज मागहरू सम्बोधन नभएसम्म आयोजनाको कुनै पनि काम सञ्चालन हुन नदिने मजदुरहरूको चेतावनी छ । उता ठेकेदार कम्पनी र मजदुरहरूसँग वार्ता गरेर जिल्ला दररेटअनुसारको पारिश्रमिकको व्यवस्था गर्न पहल गर्ने आयोजना प्रमुख मित्र बरालले बताए ।

सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारमा ८ महिना अघिदेखि सुरुङ खन्नका लागि टनेल बोरिङ मेशिन (टीबीएम) को प्लेटफर्म निर्माण भइरहेको छ ।

सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिइएको थियो। सुनकोशीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसालिने छ ।

उक्त आयोजनामा ६४ मिटरको हेड हुनेछ । उक्त सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका-२ कुसुमटार स्थित ६६ मिटर तल मरिण खोलामा खसालिने छ । आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडबक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् । साथै त्यहाँ पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ । सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रूपमा लिएको छ ।

विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइने छ । यस आयोजना निर्माण सम्पन्न भएपछि वार्षिकरूपमा उर्जाबाट २ दशमलव ७ र सिंचाइबाट ७ दशमलव ३ अर्ब गरी कुल दश अर्ब आम्दानी गर्न सकिने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्