नेभिगेशन
जीवनयापन

कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

देउखुरी - प्यूठान जिल्ला सरुमारानी गाउँपालिका-६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत छिन् । उनको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उनलाई नेपाली भाषाकै बानी पर्‍यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उनी कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने भएकी छन् । भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषीका नयाँ पुस्तालाई ९० घण्टा (पहिलो सत्र) र ६० घण्टा (दोस्रो सत्र) को प्रशिक्षणमा उनले आफ्नै मातृभाषा सिक्ने अवसर पाएकी हुन् । पहिलो सत्रमा कुसुन्डा भाषामा आफ्नो परिचय दिने र सामान्य शब्द उच्चारण मात्रै सिकेकी थिइन् । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएपछि उहाँ पनि गीत लेख्न र गाउन सक्ने भएकी हुन् । कुसुन्डा भाषाको संरक्षण गर्ने र पछिल्लो पुस्तालाई सो भाषा सिक्न सघाउने हिमाको लक्ष्य छ । उनी भन्छिन्, ‘भाषा बचाउन गीत लेखेकी हुँ । कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु ।’ बढीचौरकै फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यमिक विद्यालय धर्नामा नै कक्षा ११ मा अध्ययनरत छिन् । कुसुन्डा भाषाको कक्षा लिइसकेकी उनी घर परिवारमा कुसुन्डा भाषामा नै बोल्ने अभ्यास गर्छिन् । मातृभाषा सिकेमा लोप नहुने र बोलचालमा ल्याइराखियो भने मात्र भाषालाई बचाइराख्न सकिने भएकाले कुसुन्डा भाषा सिकेको उनी बताउँछिन् । कुसुन्डा भाषा सिक्न थालेदेखि उनले भेटेकाहरूसँग ‘नमस्कार’ को सट्टा ‘सोजाक’ भन्न थालेकी छन् । उनी भन्न्छि, ‘सुरुसुरुमा त बुझिन्नथ्यो । पढ्दै जाँदा सजिलो भएको छ । धेरै कुरा जान्ने भएका छौँ । यो भाषा पढ्ने साथीहरू एकापसमा कुरा गर्दा कुसुन्डा भाषामा नै प्रयोग गर्ने गरेका छौँ ।’ भाषा जोगाउने प्रयास घोराही उपमहानगरपालिका-१८ सुपैलाखुटीका कमला सेन कुसुन्डाले कुसुन्डा भाषा जीवित राख्न महत्वपूणर् भूमिका निर्वाह गर्छिन् । उनी कुसुन्डा भाषाको एक मात्र जीवित पूणर् वक्ता हुन् । उनकै सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ । कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रयास गरिएको छ । तीन वर्षअघिसम्म कुसुन्डा समुदायबाट कुसुन्डा भाषाका पूणर् वक्ता दुई जना मात्रै थिए । तीमध्ये एक जना दाङको लमही नगरपालिका-३ कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको तीन वर्षअघि अर्थात् २०७६ पुस ९ गते मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिएको थियो । कुसुन्डा भाषाको संरक्षण गर्न र त्यसलाई जीवित राख्न लमही नगरपालिका-५ का अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आएका छन् । भाषा आयोगको सहयोगमा उनले २०७४ सालमा कुसुन्डा भाषाको कुसुन्डा जाति र शब्दकोश प्रकाशन गरे । विसं २०७८ मा कुसुन्डा गिपन (कुसुन्डा भाषा कक्षा) र आधारभूत पाठ्यसामग्री (क) र खण्ड (ख) प्रकाशन गरेका छन् । त्यस्तै सोजाक (कुसुन्डा पाठ्यसामग्री) प्रकाशन भएको छ । यसै वर्ष उनी कुसुन्डाको वृत्तचित्र तयार गर्दैछन् । उनका गेम्येहाक, कुसुन्डा व्याकरण (कुसुन्डा र नेपाली भाषामा) प्रकासोन्मुख पुस्तक हुन् । आलेको मातृभाषा मगर भए पनि उनले लोपोन्मुख कुसुन्डा भाषाको संरक्षणका लागि काम गरेका छन् । कुसुन्डा भाषा संरक्षणका लागि केही सकारात्मक प्रयासहरू भइरहेका छन् । कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा भएको शिक्षा क्षेत्रका अगुवा गिरिराज शर्मा बताउँछन् । उनका अनुसार कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूणर् भाषा हो । कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र विकासमा निकै ठूलो चुनौती देखिएको उनको भनाइ छ । शर्माका अनुसार केही वर्ष अघिसम्म कुसुन्डा भाषा बोल्न र बुझ्न नसक्ने कुसुन्डा समुदायमा अहिले आफ्नो मातृभाषामा कुराकानी गर्न थालेका छन् । यो भाषाको अध्ययन गरेर सजिलोसँग बोल्न र लेख्न सक्ने भएका छन् । कुसुन्डा समुदायको नयाँ पुस्ता भाषा सिक्न, पढ्न र संरक्षण गर्न सक्रिय हुन थालेपछि केही आशा पलाएको उनको भनाइ छ । भाषालाई प्रविधिसँग जोड्ने योजना भाषा कक्षालाई अब परिवार र प्रविधिसँग जोडेर विस्तार गर्ने योजना बनाइएको कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक आले बताउँछन् । उनी भन्छन्, ‘कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका वृत्तचित्र बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।’ कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डा बोल्न त सक्छिन् तर लेख्न सक्दिैनन् । उनलाई लेखनमा आलेले सहजीकरण गरिरहेका छन् । दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । सुरुसुरुमा ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा भाषाको कक्षा चलाइएको थियो । यो जिम्मेवारीलाई अहिले कमलाले निरन्तर अगाडि बढाइरहेकी छन् । कुसुन्डा भाषा बोल्न जान्नेहरूको संख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्