श्यामको साहित्यिक नदी बग्दैन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–सञ्चारकर्मी एवं कवि श्याम रिमालद्वारा लिखित ‘नदी बग्दैन’ कविता संग्रह सार्वजनिक भएको छ । १ सय ५औं गोपालप्रसाद रिमाल स्मृति दिवसको अवसर पारेर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अग्रज कलाकार शंकरनाथ रिमाल, राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं कवि श्यामल, साहित्यकार तथा अनुवादक युयुत्सु आरडी शर्मा, सञ्चार व्यवसायी श्याम गोयन्का, कलाकार जीवन राजोपाध्याय, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, समालोचक तेजविलास अधिकारी, लेखक चेतनाथ धमला, साहित्यिक पत्रकार प्रवीण जोशी, रमेश खतिवडा, कलाकार तथा कवि खगेश्वर भण्डारी, कवि रिमाल लगायतले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरे । कार्यक्रममा कवि श्यामलले अति वाचाल कविता लेख्नेहरुका हुलमा श्यामले विस्तारै मस्तिष्क स्पर्श गर्ने मिहिन भावबोधका कविता सिर्जेको बताए । उनले गोपालप्रसाद रिमालको काव्यिक चेतना समाज परिवर्तन, भुइँमान्छेका आवाजलाई मुखरित गर्ने क्रान्तिकारी धारका रहेको बताए । अनुवादक शर्माले श्यामका कवितामा समाज, संस्कृति, दर्शन तथा सामाजिक चेतना सबल रुपमा आएको बताए । उनले कवि रिमालले पर्यावरणका विषयमा देखाएको सजगता र प्रकृतिप्रेम निकै प्रभावकारी रुपमा आएको जिकिर गरे । साहित्यिक पत्रकार प्रवीण जोशीले कवि रिमालले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे । उनले गोपालप्रसादको काव्यले जनता जगाउने र समाज रुपान्तरणका निम्ति आममानिसलाई अभिप्रेरित गर्ने खालका रहेको बताए । कलाकार रिमालले कवि श्यामका कविताले समय र समाजको आवाजलाई कलात्मक रुपमा उठाउन सकेको भनाइ राखे । उनले कविले सामाजिक जागरण, संस्कृति, पर्यावरण तथा दार्शनिक विषयमा केन्द्रित रहेका कविता लेखेको बताए । कवि रिमालले २०६१ सालदेखि २०७५ सालसम्मका कविता बटुलबाटुल पारी ‘नदी बग्दैन’ लिएर आएको सुनाए । उनले संग्रहमा समाज, संस्कृति, धर्म, दर्शन, प्रकृति, राजनीति तथा ब्रमाण्डका विषय समेटिएका कविता रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्