'पन्ध्रौं चुली' पुस्तकको लोकार्पण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–  लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ । १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याका अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामीरिता शेर्पा र मिङ्मा शेर्पाले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक लेख्नु गाह्रो काम भए पनि लेखक गौतमले त्यसलाई सजिलोसँग पार लगाएको बताए । पुस्तक रोचक किसिमले लेखिएको र यसमा सगरमाथा आरोहण मात्र यसका इतिहाससम्बन्धी नालीबेलीसमेत रहेको उनको भनाइ छ । पुस्तक पढ्दै जाँदा सरासर समिटमा पुगिने उनले बताए । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले सगरमाथा पृथ्वीको शिर रहेको र त्यसमा केन्द्रित पुस्तक ‘पन्ध्रौं चुली’ रहेको बताए । पृथ्वीको स्नायुशास्त्र (न्युरोलोजी अफ अर्थ) का रूपमा खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ आएको उनले बताए । आफू विभागको नेतृत्वमा रहे पनि यस किताबले आफूलाई सगरमाथाका हरेक खुट्किलाबारे जानकारी लिन सजिलो भएको उनको भनाइ छ । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट ९नाथम०, पर्वतीय प्रशिक्षण प्रतिष्ठानलगायत पर्यटनसम्बन्धी औपचारिक पढाइ हुने शिक्षण संस्थाका लागि यो बलियो सन्दर्भ सामग्री रहेको उनको दाबी छ । हर्क गुरुङपछि यस खालको भूगोललाई समेत समेटेर आममानिसले बुझिने गरी लेखिएको किताब ‘पन्ध्रौं चुली’ रहेको उनले बताए । लेखक अमर न्यौपानेले पुस्तक पैताला र अध्ययनले लेखिएको पुस्तकका रुपमा ‘पन्ध्रौं चुली’ रहेको बताए । ‘पैतालाले यसकारण, उनी एक पटक नेपाल भ्रमण वर्ष र अर्को पटक सगरमाथाको उचाइ मापनका लागि सगरमाथाको शिखरमै पुगे,’ न्यौपानेले भने, ‘सगरमाथा आरोहणको इतिहास पनि यहाँ पाइन्छ । त्यसैले यसलाई अध्ययनबाट लेखिएको भन्न सकिन्छ’ उनले भने । अङ्ग्रेजीमा हिमालबारे धेरै किताब लेखिए तापनि नेपालीमा एकदम कम लेखिएको फाइनप्रिन्टका अजित बरालले बताए । कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारणबारे केही बताए । उनले केही आफ्ना निजी अनुभव पनि सुनाए । ‘पन्ध्रौं चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र ग¥यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैप¥यो भनेर यसमा हात हालेको हुँ ।’ राष्ट्रसेवाका अवसरमा आफू दुईदुई पटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उनको भनाइ छ । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उनले भने, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छ । सगरमाथाबारेका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यसबारे पाठकले पक्कै मूल्यांकन गर्नुहुनेछ ।’ गौतमले दुई पटक सगरमाथाको चुली चुमेका छन् । नेपालमा पर्यटन प्रवद्र्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो । ‘पन्ध्रौं चुली’ साहस, जोखिम र सङ्घर्षको यात्रा–कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उनलाई मृत्युले छोएर जान्छस लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ । कास्कीको पोखरा नजिकै धितालमा जन्मिएका खिमलाल गौतम पेसाले सर्भेयर हुन् । साल्जबर्ग विश्वविद्यालय, अस्ट्रियाबाट भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर उनी निजामती सेवामा १७ वर्षदेखि कार्यरत छन् । दुई पटक सगरमाथा आरोहण गरिसकेका उनले २०७६ सालमा नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गर्ने कार्यक्रमअन्तर्गत समिट अब्जर्भेसन सर्भे टोलीको संयोजकका रुपमा चुचुरोमै पुगी सर्भे गरेका हुन् । उनी दुई पटकसम्म सगरमाथा आरोहण गर्ने एक मात्र कर्मचारी एवम् सर्भेयर हुन् । नापनक्सा र सर्वेक्षणको क्षेत्रमा योगदानका लागि सन् २०२१ को ‘जियोस्पासियल वल्र्ड’को संसारका ५० उदाउँदा ताराहरूको सूचीमा परेका गौतमको पहिलो कृति हो, ‘पन्ध्रौं चुली ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:१६
प्रतिक्रिया दिनुहोस्