भक्तपुरमा हामीले शासन होइन जनताको सेवा गरेका छाैँ : सुनिल प्रजापति

बिहीबार, मंसिर ८, २०७९

चुनावबाट कहाँ कुन पार्टीका उम्मेदवार निर्वाचित होलान् भन्ने थाहा पाउन मतगणना कुर्नै पर्छ । तर भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टीले जित्छ भन्नलाई मत परिणाम सम्म कुर्न पर्दैन । मत कति ल्याएर जित्ला अनि अरु दलले कति मत ल्याउलान् भन्ने मात्र चासोको विषय हुने गरेको छ । भर्खरै भएको मतदानबाट २५ हजार ८ सय ४५ मत अन्तरले नेपाल मजुदर किसान पार्टी (नेमकिपा)का उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा नगरपालिकाभित्रका कुनै वडा सदस्यमा समेत अन्य पार्टीका एकै जनाले पनि जित्न सकेनन् । सुनिल प्रजापति यसअघि पनि भक्तपुरका मेयर नै थिए । उनै प्रजापतिसँग चुनावी नतिजा, भक्तपुरमा नेमकिपाको शासन, गएको ५ वर्षको अनुभव, अबका योजना लगायत विषयमा तर्क थापाले गरेको कुराकानीकाे सम्पादित अंश –

नेमकिपा र भक्तपुर नगरपालिका भन्ने पर्याय जस्तो लाग्न थालेको छ । भर्खरै भएको निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा सबै पदमा भारी मतका साथ जीत हात पार्नुभयो, यो कसरी सम्भव भयो ?

नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ता निर्वाचन भएपछि पनि वा निर्वाचित नभए पनि राजनीतिलाई जनताको सेवा गर्ने माध्यामका रुपमा प्रशिक्षित हुन्छन् । जनताको सेवालाई नै केन्द्रविन्दुमा रहेर काम गर्ने गरेका छौँ । हामीले पनि त्यही ग¥यौँ । जनताको सेवा गरेकै कारण जनताले हामीलाई अनुमोदन गरेका हुन् । जनताले माया गरे ।

अरु पार्टीले त भक्तपुर नेमकिपाले कब्जा गर्‍यो भन्ने आरोप लगाउँछन् नि ?

उनीहरुले त्यति भनेनन् भने अरु के भन्छन् त ? अरु भन्ने ठाउँ छैन । सबै जनताले राम्रो प्रजातान्त्रिक अभ्यास गर्न पाउनु भएको छ । विपक्षी दलका साथीहरु हामीलाई तथानाम गाली गर्दै हिड्नुभयो हामीले केही भनेनौँ । विपक्षी दलका नेताहरुले भक्तपुरमा बोलेको भाषा अन्य ठाउँमा बोलेको भए उहाँहरुको अवस्था के हुन्थ्यो सबैलाई थाहै छ । हामीले सैद्धान्तिक कुराको आलोचना ग¥यौं । उहाँहरुले मञ्चमा बोल्नु भयो हामीले टेलिभिजनको पर्दामार्फत सैद्धान्तिक उत्तर दिएका छौँ । व्यक्तिगत समस्या केही होइन । पार्टीका केन्द्रीय नेता, सांसद भइसकेकाहरुले बोल्ने भाषा होइन्, हामीले हरेकको उत्तर दिइरहनु पर्छ भन्ने पनि लाग्दैन ।

भक्तपुरमा बर्षाैँदेखि एकछत्र राज गरिरहनु भएको छ । अरु पार्टीलाई आउनै नदिने रणनीति हो ?

हामीले शासन भन्दा पनि जनताको सेवा गरेको भन्नु राम्रो हुन्छ । अरु पार्टीहरु पनि जनताले रुचाए भने आउँछन् नआउने कुरै भएन । २०७४ सालको चुनावभन्दा पहिला ११ र १६ नम्बर वडामा कांग्रेस र राप्रपाको एक एक जना जहिले पनि आइरहनु हुन्थ्यो नी । जनताका सेवाभावले काम गरेपछि राम्रोलाई रोज्दा रहेछन् । अहिलेको निर्वाचनले पनि त्यो देखायो ।

जितको कुरा एउटा हो तर सँधै जितिरहनु त्यो पनि ठूलो अन्तरमा, यो त त्यसै अवस्य सम्भव नहोला यसका लागि चाहिँ यहाँहरुले के के गर्नुभयो ?

जनताको आधारभूत आवश्यक्ता पुरा गरिदिएको अवस्थामा जनताले मन पराउँछन् । हामीलाई ठूला सपना देखाउन पनि आउँदैन, हामीले सम्भव नहुने आश्वासन बाँड्दैनौं । जस्तो कि शिक्षाको कुरा गरौं, यो अनिवार्य र आवश्यक विषय हो । शिशु स्याहारदेखि कलेजसम्म संचालन ग¥यौँ । हाम्रै सातवटा कलेज छन् । जहाँ ७२ जिल्लाका ७ हजार बढी विद्यार्थी पढ्छन् । वर्षको ३ करोड रुपैयाँको छात्रवृत्ति छ । हामीले जेहन्दार र आर्थीक रुपमा कमजोर विद्यार्थीलाई सहयोग गछौँ ।

अरु कलेजमा पढ्न जानेका लागि ५ लाखसम्मको शिक्षा ऋण दिएका छौँ । अहिले ३१४ जना विद्यार्थी त्यसरी पढिरहेका छन् । पोलिटिकल साइन्स, नेपाल भाषा, भूगोल, इतिहास र संस्कृति विषयमा जहाँ गएर पढेपनि नगरपालिकाले निशुःक पढाइदिनन्छ ।

अर्को कुरा स्वास्थ्य आधारभूत आवश्कता हो । हामीले त्यसमा जोड दियौँ । वडावडामा डाक्टरसहितका स्वास्थ्य चौकी छन् । स्तरीय ख्वपः अस्पताल संचालनमा छ । ८० रुपैयाँमा विशषेज्ञ सुविधा, ५० रुपैयाँमा एमबीबीएस डाक्टरको सुविधा बिरामीले पाउँछन् । ख्वपः अस्पतालमा १३५ जना नर्स डाक्टर कार्यरत हुनुहुन्छ । असाध्यै सस्तो र स्तरीय स्वास्थ्य सुविधा दिइरहेका छौँ ।

शिक्षा र स्वाथ्यको विषय उठाउनु भयो, नेपालमा शिक्षा र स्वास्थ्यमा नीजि क्षेत्रको लगानी ठूलो छ तर भक्तपुरमा किन सरकारको मातहतमा चलाइरहनुभएको छ ?

शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो । हाम्रो संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ । हाम्रो देश समाजवाद उन्मुख छ भनेर पढ्छौँ । त्यही समाजको अर्थ मानिसका आधारभूत आवश्यकताहरुमा राज्यको पहुँच हुनु पर्छ, राज्यको नियन्त्रणमा हुनु पर्छ भन्ने सिद्धान्त हो । त्यसैले हामीले शिक्षा र स्वास्थ्यलाई राज्यको मातहतमा ल्याएर त्यसको गुणस्तरलाई उठाउने काम गरेका छौँ । हाम्रो देशमा सामुदायिक विद्यालय भनेपछि नाक खुम्च्याउने चलन छ । तर, भक्तपुरमा सामुदायिक विद्यालयको स्तर जाँच गर्नसक्नु हुन्छ । यहाँ गर्व गर्न लायक शिक्षा छ ।

एउटै सामुदायिक विद्यालयमा ४ हजारमाथि विद्यार्थी पढ्छन् । अझै राख्ने ठाउँ भएको भए कति पढ्थे होला । हामीले शिक्षाको गुणस्तरीयतामा जोडदिएकै कारण विद्यार्थीको चाप बढेको हो । शिक्षा र स्वास्थ्य साह्रै महंगो छ । सामान्य मान्छेको पहुँच राम्रो शिक्षा र स्वास्थ्यसम्म पुगेको पाइँदैन । त्यसैले, आधारभूत शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिनका लागि जनताको आधारभूत आवश्यक्तामा राजनीति र व्यापार नहोस भन्नका लागि सरकारको नियन्णमा ल्याएका हौँ ।

संविधानले समाजवादउन्मुख देशको परिकल्पना गरेका कारण हामीले त्यसको अभियानमा सहयोग गरेका हौँ । व्यक्ति धनी हुँदै जाने व्यवस्था पूँजीवादी व्यवस्था हो । अरु पार्टीले त्यही पूँजीवादी व्यवस्थाअनुसार काम गरिरहेका छन् । हामीले समाजवाद उन्मुख देशको लागि तयारी गरिरहेका छौँ ।

भक्तपुरलाई नेमकिपाले नेपालको उत्तर कोरिया बनायो, बाहिर नल्याइएको मात्र हो भित्रभित्र त्यहाँ पनि समस्या धेरै छन् भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?

उत्तर कोरिया के हो भनेर नबझ्नेहरुको भाषा हो यो । अहिले संसारमा सुखि समाज कहिँ छ भने त्यो उत्तर कोरियामा छ । समानताको हिसाबले, शिक्षाको हिसाबले, शक्तिको हिसाबले, विज्ञान र प्रविधिको विकासको हिसाबले उत्तर कोरिया अगाडि छ । अमेरिकासँग ठाउँको ठाउँ युद्ध र शान्तिको एक्सन लिन्छ । संसारको स्वर्ग भनेर उत्तर कोरियालाई चिन्न सकिन्छ । उत्तर कोरियालाई केही गर्न नसकेपछि अमेरिकी प्रचारबाजीलाई कतिले साँचो ठानेर बोल्ने गर्छन् ।

रह्यो कुरा भक्तपुरको । भक्तपुरलाई हामीले भक्तपुर नै बनाउन चाहेको हो । भक्तपुरको छुट्टै विशेषता छ । यहाँको छुट्टै संस्कृती छ । यहाँका सम्पदालाई कसरी संरक्षण गर्ने, यहाँको मानिसको रहनसहनलाई कसरी सहजताकासाथ अगाडि लैजाने हामीले सोचेको त यही हो ।

भक्तपुरमा तपाईँहरुले मात्र जितेपछि प्रजातान्त्रिक अभ्यास त हुन पाएन नि ?

त्यो तर्कका लागि तर्क गर्नु एउटा विषय भयो । सैद्धान्तिक कुरा गर्दा हामीले जति कसले काम गर्छ । अघि कुरा गरेजस्तै ठूला पार्टीले भक्तपुरमा आएर सार्वजनिक कार्यक्रमबाट जुन अभिव्यक्ति दिए त्यो केटाकेटीपन हो । अन्य ठाउँमा गएर त्यसरी बोल्दा उहाँहरुको हविगत के हुन्थ्यो ? त्यही कुराबाट पनि प्रष्ट हुन्छ कि हाम्रो नगरपालिकामा प्रजातान्त्रिक अभ्यास भएको छ कि छैन भनेर ।

हामीले उहाँहरुको जस्तो अपरिपक्क भाषा प्रयोग गर्दैनौँ । हामी सैद्धान्तिक लडाईमा छौँ । एमसीसीको विषयमा पनि हामीले सैद्धान्तिक रुपमा गाउँगाउँका जनतालई सचेत गराएपछि अरु पार्टीका नेताहरुले सम्झौता पढ्न थालेका हुन् । सैद्धान्तिक कुराहरुमा एमाले, माओवादी र कांग्रेसहरुलाई हामीले बेलाबेलामा सचेत गराइरहेका छौँ । सडक र संसदका साथै देशका कुनाकाप्चामा हामीले सैद्धान्तिक विषयमा जोड दिएका हुन्छौँ । अहिलेका शासक दलका नेताहरुलाई एमसीसीको बारेमा सचेत हामीले नै गराएको हो । त्यतिमात्र होइन कार्यकर्ताले नेताहरुकोविरुद्ध बोल्न बाध्य गराउने पनि हामी त हो नी । त्यो स्वीकार गरुन या नगरुन यथार्थ हो ।

हामीले गरेको जस्तो अभ्यास गर्ने भनेर विभिन्न ठाउँबाट मेयर वा पालिका अध्यक्षहरु आउनुभएको छ । यहाँबाट सिकेर गएर चलाउनुभएको पनि छ । नेपालगञ्जका मेयर धवलसमशेर राणा आउनुभयो । उहाँहरुसँग छलफल भयो । महिला कलेज खोलेर मजैसँग चलाउनु भएको छ । अन्यले पनि त्यो अभ्यास गरिरहनु भएको छ । अरु दुईवटा नगरपालिकाहरुले संचालन गरेको खबर सुनेका छौँ । धेरै मेयरसाब सँग भेटघाट गरेर अनुभवको आदानप्रदान भनेको गरिएको छ ।

पहिलो कार्यकालमा गरेका प्रतिवद्धता सबै पूरा गर्नुभयो कि केही छुटे पनि ? अबका योजना चाहिँ के छन् ?

जनताको बीचमा ५ वर्ष अघि दिएका बचन त पुरा ग¥यौँ । अब त्यो बेलामा प्रदेश सरकार र केन्द्र सरकारले सहयोग नगरेर बाँकी रहेका कामहरु अहिलेको कार्यकालमा गर्ने कोशिष रहने छ । जस्तै, ख्वपः अस्पताललाई १०० बेडको चलाउने तयारीमा छौँ । प्रदेश सरकारले त्यसको अनुमति दिनुपर्ने दिएको छैन । हामीले त्यसको पुनः प्रयास गर्ने छौँ ।

ख्वपः विश्वविद्यालयको तयारीमा छौंँ । सरकारले विधेयक पारित नगरेका कारण रोकिएको छ । ७ वटा कलेजहरु, ७ हजार विद्यार्थी पढिरहेका छन् । यत्रो विद्यार्थी पढ्ने त आफै विश्वविद्यालय हो । सरकारले विधेयक पास गरेपछि पीएचडी पनि पढाउने सोचमा छौं त्यो पनि पुरा गर्ने छौँ ।

मेडिकल कलेजको पनि त्यस्तै अवस्था छ । हामीलाई स्वीकृति दिए १५/१६ लाखमा एमबीबीएस पढाउँछौं भनेका छौं । त्यो पनि भएको छैन । भएको एउटा नर्सिङ कलेज पनि सरकारले बन्द गरायो । त्यसको लागि पनि हामीले प्रयास गर्नेर्छौ । भक्तपुर दरवार स्क्वायर भित्रका धेरै संरचना छन् । विश्व सम्पदासूचीमा परेका सम्पदालाई केन्द्र सरकार, पुरातत्व विभागलगायतले राम्रो समन्वय नगरिदिँदा गर्न पाइरहेको छैनौँ । त्यसलाई पनि बनाउने अबको ५ वर्षको कार्यकालको काम रहन्छ । भक्तपुरमा बग्ने खोलाहरुमा सफा पानी बगाउने अर्को योजना पनि छ । हुन त पहिला पनि हामीले त्यसको बारेमा योजनाहरु तयार गरेका छौँ । काम भइरहेको पनि छ तर, अब यसलाई फाइनल गर्न केही समय लाग्छ । अन्य ठाउँबाट आएको बाहेक भक्तपुर भित्रबाट निस्कने पानीलाई हामी सफा बगाउने तयारी गरिरहेका छौँ ।

यो ५ वर्षे अनुभवमा संघीयताको अभ्यास कस्तो भयो ? संघीयता देशमा आयो, कानूनमा आयो र संविधानमा आयो । तर, नेताहरुको सोचमा आएन, दिमागमा आएन । उनीहरू केन्द्रबाट नियन्त्रित संघीयताको अभ्यासमा जान खोजे । भनेको सिंहदरबारबाट नियन्त्रित । यो प्रदेश र स्थानीय तह त संघको इकाइ हो भनेर प्रधानमन्त्रीज्यूहरुले नै बोल्नु भएको सुनेका छौं नि । सामान्य उदाहरण दिउँ, शिक्षकलाई तलब खुवाउने स्थानीय तह, सरुवा, बढुवालगायत नियन्त्रण गर्ने संघीय सरकार । सैद्धान्तिक कुरा नै के हो भने जसले तलब खुआउँछ त्यसैले नै नियन्त्रण गर्न पाउनु पर्ने हो नि ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ ले नै कर्मचारीको सेवा सुविधा, राख्ने हटाउने अधिकार त नगरपालिकालाई दिएको छ नि । त्यो भन्दा पछाडि फर्केर अहिले सबै कर्मचारी प्रदेश सरकारले लोकसेवाबाट पठाउने भन्यो । ५ वर्ष वित्यो पठाउन सकेको छैन । संघले पठाएको हामीले लिएका छैनौँ । कानून र संविधानले के के काम गर्ने भनेर भूमिका त छुट्याएको छ । जवाफदेहिता नभएका कारण संघीयतामाथि प्रश्न उठ्नु त स्वभाविकै हो नि ।

तपाईँले भक्तपुरमा धेरै राम्रा काम गरेको दाबी गर्नुभयो तर, नेमकिपा भक्तपुरबाट बाहिर फैलिन किन नसकेको ? हामीले वैचारिक लडाई गरिरहेका छौँ । सैद्धान्तिक र वैचारिक लडाई संख्याको आधारमा धेरै ठूलो हो । हामीले अहिलेको निर्वाचनमा पनि धेरै ठाउँबाट उम्मेदवार उठाएका छौं । हाम्रो निर्वाचन प्राणाली, ठूला दलहरुको मत खरिद गर्ने परम्पराका कारण हाम्रा साथीहरु हार्नु भयो । जुन दिनसम्म निर्वाचन आयोगले बनाएको आचारसंहितामा टेकेर निर्वाचन हुँदैन त्यो दिनसम्म हामीले जित्दैनौँ । अथवा जुन दिनसम्म जनता सचेत हुँदैनन, जनताहरु राजनीतिक र साँस्कृतिक रुपमा माथि उठ्दैनन् । त्यो दिनसम्म यहाँले यस्तो प्रश्न गरिरहनु हुनेछ । हामी ठूलो भएको देख्नलाई नीति, नियम, अनुसाशनको पूर्ण पालना भएको र जनता सुसूचित भएको अवस्था हुनुपर्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्