भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले गठबन्धनलाई फरक पर्दैन– प्रचण्ड (भिडिओ)

बिहीबार, मंसिर ८, २०७९

काठमाडाैँ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेका छन् । माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने उनको भनाइ छ ।

गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भएपनि गठबन्धनलाई बचाउन माओवादी केन्द्रले नै मूख्य भूमिका निर्वाह गरेको भन्दै प्रचण्डले अहिले पनि माओवादी केन्द्रले नै राजनीतिक एजेण्डामा, गठबन्धनमा र यी सबै प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे ।

अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै मत दिएर जिताउन पनि उनले आग्रह गरे । अध्यक्ष प्रचण्डसँग प्रेस सेन्टर नेपालले गरेको क’राकानीको सम्पादित अंश–

स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना कस्तो छ ? हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को, हामीले गठबन्धनमा छलफल गर्दा हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो ।

यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएकोले गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

माओवादीले जसको नीति उसको नेतृत्व त भन्यो तर निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा नेतृत्व त छोडियो भन्ने आलोचना छ, यो नारा कसरी कार्यान्वयन हुन्छ ? यो विषय अलि गम्भीर र संवेदनशील छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्धाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ ।

तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।

तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । हामीले नै प्रस्ताव गरेर तपाईं प्रधानमन्त्री हुनुप¥यो भनेर नेपाली कांग्रेसका सभापति शेरबहाद’र देउवालाई भन्यौं । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ ।

गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

माओवादीले अघिल्लो निर्वाचनमा ७५३ मध्ये १०६ स्थानीय तहमा प्रमुख जितेको थियो, यसपटक माओवादीले त्यसभन्दा बढी जित्ला त ? मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्योभन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ भन्ने देखिन्छ । त्यो कुरा पक्का हो ।

माओवादी कहिले एमालेसँग मिलेर वाम एकता त कहिले कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भन्छ । माओवादी एक्लै आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ? त्यस्तो होइन । त्यसो भन्यो भने त कसैले पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यो ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? आखिरमा त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ । एमाले शुरु शुरुमा हामी त एक्लै लड्छौं भन्थ्यो तर उसले ८/९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । काँग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको होइन । बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न प¥यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको ।

हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ–आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । अहिले त्यस्तो छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्धा स्थापित गर्न प्रेरित ग¥या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।

यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्ला ? मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रुपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।

माओवादीका इमान्दार नेता कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उमेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पु¥याउला ? पहिलो कुरा, माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उमेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन ।

त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कार्वाही गर्छ ।अर्को कुरा सिस्टम भित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रङ लाग्ने त हुुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिवद्ध छ ।

माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरु भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ? घोषणापत्र भने पनि, प्रतिवद्धता पत्र भने पनि अपील भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के ग¥यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिका स्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय ग¥यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिवद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्धिविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन ।

घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई । अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्धाहरु नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं । जनताका आवश्यकता, समस्या र भावना समेटिएका यथार्थवादी घोषणापत्र सबै पालिकाले निकालुन् र केन्द्रबाट मार्गनिर्देशन गरोस् भनेर जानीबुझीकन नै अपिल प्रकाशित गरिएको हो ।

गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्ने देखिएको छ नि ? तपाईले भन्नुभएको कुरा प्राविधिक रुपले साँचो हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन ।

हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुप¥यो, पालिकाको हकमा जिल्लामा कम्तिमा एउटा पालिका प्रमुख बनाउनु प¥यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुप¥यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ । हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याई वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो । त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानुनी रुपले त्यस्तो परेको हो । मलाई लाग्छ, यो कानुन नै बदलेर दुइमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ ।

विशेष गरी भरतपुर महानगरपालिका जहाँ एकीकृत माओवादीले मेयरमा उम्मेदवारी दिएको छ । त्यहाँ नेपाली काँग्रेसका पुराना नेता बागीको रुपमा उठेको पाइएको छ । यस्तो अवस्थामा गठबन्धनका उम्मेदवार विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ? ६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत निर्णय लिइएको छ त्यसमा दायाँवायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध वागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध वागीले त्यसको मुलभूत परिणाममा कुनै असर पार्दैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्