विश्वकप फुटबल प्रतियोगिताः फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १-० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो। खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे। जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन।

अष्ट्रेलिया नकआउट चरणमा

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० गोलअन्तरले हरायो। अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे।

फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन्। गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो। यसैगरी  ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो। डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो। दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०१:१५
प्रतिक्रिया दिनुहोस्