विश्वकप क्रिकेटमा भोलिबाट सेमिफाइनलका खेल

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं - आइसीसी एक दिवसीय विश्वकपमा भोलिबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । कूल ४५ खेलपछि भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइलनमा पुगेका छन्।

भारतमा जारी १३औं आईसीसी एक दिवसीय विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई देश यसअघि विश्वविजेता भइसकेका छन् भने दुई देश पहिलो पटक जितेर रेकर्ड राख्ने दौडमा छन्।

छनोट भएकामध्ये सबैभन्दा धेरै विश्वकप अष्ट्रेलियाले जितेको छ । भारतले पनि विश्वकप जितेको छ । दक्षिण अफ्रिका र न्यूजिल्याण्डले भने हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्। उनीहरु यो तथ्यलाई उल्टाउदै भारतबाट उपाधि जितेर जाने लक्ष्य र रणनीतिसहित मैदानमा उत्रिँदैछन्।

आइसीसीको रेकर्ड अनुसार अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा गरी पाँच पटक एक दिवसीय विश्वकपको उपाधि जितेको छ । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको छ ।

भारतले समूह चरणमा शतप्रतिशत खेल जितेर सेमिफाइनलमा पुगेको छ ।

विश्वकमा न्युजिल्याण्डले पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि एक दिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । न्यूजिल्याण्डको ब्याटिङ र बलिङ दुवै सन्तुलित छ। यही कारण उसलाई इतिहास बनाउने मौका छ।

लिग चरणमा उत्कृष्ट सुरुवात गरेको न्यूजिल्याण्ड बीचका केही खेलहरुमा कमजोर देखिएको थियो। तर उसले फेरि पुनरागमन गर्दै सेमिफाइलनको यात्रा तय गर्‍यो। दुई पटक फाइनल र ६ पटक सेमिफाइनलमा पुगेर पनि न्यूजिल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन । न्यूजिल्याण्ड सन् २०१५ र सन् २०१९ को विश्वकपमा फाइनलमा पुगेर उप–विजेतामा चित्त बुझाएको थियो ।

दक्षिण अफ्रिका सन् १९९२ देखि एक दिवसीय विश्वकप खेल्न थालेको हो । दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको इतिहास छैन । दक्षिण अफ्रिका हालसम्म चार पटक सेमिफाइनलमा पुग्ने अनि बाहिरिने हुँदै आएको छ।

सन् १९९२ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको दक्षिण अफ्रिकाले त्यसपछि सन् १९९९, सन् २००७ र सन् २०१५ मा सेमिफाइनल खेलेको थियो।

अब सेमिफाइलनमा भारत र न्यूजिल्याण्ड खेल्ने छन् भने दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्ने छन् जसबाट विजेता हुनेहरुले फाइलन खेल खेल्ने छन्। सेमिफाइलन १५ र १६ तारिखमा वानखेडे र इडनगार्डेन्समा हुनेछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्