कप्तान पौडेल भन्छन् विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौं

शनिबार, वैशाख १५, २०८१

 काठमाण्डौ – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० श्रृङ्खला खेल्ने बताएका छन् । नेपालले आजदेखि घरेलु मैदानमा वेस्ट इण्डिज ‘ए’सँग पाँच खेलको श्रृङ्खला खेल्दैछ ।

एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृङ्खला खेल्न लागेको हो । कप्तान पौडेलले प्रिमियर कपबाट सबै खेलाडी निराश रहेपनि त्यसलाई भुलेर अबका खेलमा केन्द्रित रहेको बताएका हुन् । ओमानमा भएको प्रिमियर कपमा नेपाल सेमिफाइनलबाटै बाहिरीएको थियो । एसिया कपमा पुग्न नेपाल असफल भएको थियो ।

वेस्ट इण्डिजका कप्तान रोस्टन चेसले विश्वकपको तयारीका लागि यो श्रृङ्खला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आफ्ना खेलाडीले प्रमाणीत गर्ने अवसर रहेको बताए । कप्तान चेसले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने बताए ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इन्डिजसँगको श्रृङ्खलाबाट नेपालले राम्रो तयारी गर्ने विश्वास व्यक्त गरे । वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृङ्खलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे ।

हिजो भएको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले वेस्टइन्डिज ‘ए’ सँगको श्रृङ्खलाका लागि बिहीवार घोषणा भएको टोलीमा विनोद भण्डारी, लोकेश बम, कमलसिंह ऐरी र सागर ढकाल पनि थपिएका जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्