मोरङमा निर्वाचनको सबै तयारी पूरा

शुक्रबार, मंसिर ९, २०७९


विराटनगर–आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयकाअनुसार ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कूल ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र ११४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
मतदानका लागि ६ हजार ७१२ कर्मचारी परिचालन गरिएको छ । १ मतदान केन्द्रमा ८ कर्मचारी रहने छ  । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ ।
मोरङमा २ वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ । १ जिल्ला कारागारमा कैदीबन्दीका लागि र अर्को आदर्श पुस्तकालयमा मतदानमा नखटिने कर्मचारीका लागि अस्थायी मतदान केन्द्र बनाइएको छ । कर्मचारी र कैदीबन्दीले समानुपातिकमा मात्र मत खसाल्न पाउने भएका छन् । 
अहिलेसम्म सबै मतदान केन्द्र वा मतदानस्थलमा शान्तिपूर्ण वातावरण रहेको र प्रत्येक मतदान केन्द्रमा खानेपानी, शौचालय, बिजुली, इन्टरनेटको व्यवस्था गर्नका साथै  मतदान अधिकृत बुथ निर्माणमा जुटेको बताइएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्