मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग ओलीमा देखियो - विश्वप्रकाश शर्मा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको बताएका छन् । 

बिहिबार इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले सो कुरा गरेका हुन् । उनले भने - 'मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।'

शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताए । एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । शर्माले कुनै अथोरेटीले (सभामुखले) गरेको निर्णयमा असहमति राख्न पाइने भए पनि त्यसलाई मान्नुपर्ने बताए ।

एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने शर्माको विश्वास छ । नेतृत्वको विधिसम्म कार्य गर्न जरुरी रहेको बताउदै उनले सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेको प्रति असन्तुष्टि व्यक्त गरे ।

गठबन्धनको सन्दर्भमा भने कांग्रेसले ठिक समयमा ठिक निर्णय लिने महामन्त्री शर्माको टिप्पणी छ । उनले भने - 'गठबन्धन आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन' उनले थपे - 'कांग्रेसमा विधिवत् छलफल नभइकन आगामी निर्वाचनमा गठबन्धन हुनेछैन भन्न पनि मिल्दैन, हामी ठिक समयमा ठिक निर्णय लिन्छौ ।'
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार