मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुत

सोमबार, वैशाख २४, २०८१

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) प्रस्तुत गरेको छ ।

पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो ।

करिब १ वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रकृयामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरूको प्रतिक्रिया थियो । उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले रंगशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्य–सचिव घिसिङलाई वर्तमान संसदकै कार्यकालमा काम सम्पन्न गर्ने अगाडि बढ्न निर्देशन दिएका थिए । मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ ।

सदस्य–सचिव घिसिङले सो निर्देशनको तत्काल कार्यान्वयन गर्ने क्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई डिपीआर तयार गर्ने जिम्मेवारी दिएका थिए ।

डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १ साताभित्र सम्पन्न गर्न सदस्य–सचिव घिसिङले पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन् ।

डिपीआर प्रस्तुतिका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्