नेभिगेशन
अर्थ विविध

५९.७३ प्रतिशत पुग्यो सिद्धबाबा सुरुङको भौतिक प्रगति

काठमाडौँ । सिद्धार्थ राजमार्गमा बन्दै गरेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५९.७३ प्रतिशत पुगेको छ ।

सुरुङमार्ग आयोजनाका अनुसार अहिले सिद्धबाबामा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको छ । यसबाहेक स्लोप प्रोटेक्सनमा समेत काम जारी छ ।

१ हजार ८९ मिटर लम्बाइको मुख्य टनेल सहित सबै बाइपास टनेलको यसअघि नै ब्रेक थ्रु भइसकेको थियो । यहाँ कुल तीन वटा बाइपास सुरुङ छन् । आयोजनाको वित्तीय प्रगति भने ५१.१ प्रतिशत पुगेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ ।

यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्