नेभिगेशन
समाज विविध

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

काठमाडौँ– पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्।


त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घररकोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्। एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौँ परिसरले जनाएको छ।

यस्तै ग्यास चुहावट भएर ४५, वन जङ्गलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

पछिल्लो एक वर्षमा ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभन्दा कम समयमा सम्बन्धित स्थानमा पुगेको पनि उनले जानकारी दिए। अधिकांश घटनामा १५ मिनेटभन्दा कम समयमा प्रहरी पुग्ने गरेको तथ्यांक पनि उनले प्रस्तुत गरे।

प्रहरी हटलाइन, एसएमएस, सिसिटिभी, सामाजिक सञ्जाल, प्रहरी मोबाइल एप, रेडियो सेट, कार्यालय तथा व्यक्तिगत फोन सम्पर्क तथा व्यक्ति स्वयम् उपस्थित भई प्रहरीमा सूचना आउने गरेको छ। गत वर्ष मात्रै काठमाडौँ प्रहरीमा चार लाख २८ हजारभन्दा बढी अपराधका सूचना प्राप्त भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध