नेभिगेशन
समाज विविध

कालिकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुँदै

काठमाडौँ- कालिकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।

रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न बिहीबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेको हो ।

कठिन भौगोलिक अवस्थिति रहेको कालिकोटमा नागरिकतालगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न त्यस क्षेत्रका नागरिकलाई कठिनाइ छ ।

जनगुनासो सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको लागि स्रोत सुनिश्चित गरेको रास्कोट घर भएका एमाले केन्द्रीय सदस्य नगेन्द्र शाहीले बताए ।

उनले रास्कोट इलाका प्रशासनका लागि सबै दलले चुनावी मुद्दा बनाएको स्मरण गर्दै नरहरिनाथस्थित कोटबाडा विमानस्थल सञ्चालन, मान्म कोटबाडा केबुलकार वा लामो पुलको आवश्यकता रहेको सुनाए ।

रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको नगर प्रमुख धर्मराज शाहीले बताए । उपप्रमुख मनिराज बरालले नागरिकता बनाउनकै लागि सदरमुकामपारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिए ।

संघीयताको मर्मअनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भए पनि नरहरिनाथका नागरिकलाई रास्कोटभन्दा मान्म पायक पर्ने भएकाले सदरमुकाम बाटै नागरिकता लिने व्यवस्था हुनुपर्ने गाउँ पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । उनले नरहरिनाथका बासिन्दाका लागि मान्मलाई नै सेवा केन्द्र तोक्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

२४ क्यासिनोले जुवा खेलाउन पाउने

बुटवल-नारायणगढ सडक पुन: अवरुद्ध