नेभिगेशन
राजनीति

मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा नलिने बानियाँको घोषणा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।

नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाइ छ ।

‘पारदर्शी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन,’ उनले भने ।

अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनको दाबी छ । साथै, मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा समेत नलिने उनको घोषणा छ ।

‘अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्नँ,’ बानियाँले भने ।

आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुने गरी गरेको उनको दाबी छ ।

गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरूमध्येका छोराछोरीहरूलाई प्रदेश सरकारले २र२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने उनले बताए ।

‘मैले पहिलो निर्णय नै बागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरूलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरेँ र १० वटी गरिबका छोरीहरूलाई नर्स पढाउने निर्णय गरिसकेँ,’ बानियाँले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति