नेभिगेशन
राजनीति

पार्टीमा एक्लिए अध्यक्ष माधवकुमार नेपालः अख्तियारको मुद्दाले झनै पेलिने भए

अध्यक्ष नेपाल पतञ्जली जग्गाको नीतिगत भ्रष्टाचारको प्रकरणमा मुछिएपछि झनै तिव्र विवाद सुरु भएको देखिन्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीमा एक्लिएका छन्। सम्मानित नेता झलनाथ खनालसँगको विवाद अझ गहिरो हुन थालेपछि शीर्ष तीनमा उनी एक्लिएको राजनीतिक घटनाक्रमले देखाएको छ। 

यसको पछिल्लो उदाहरण बरियतामा दोस्रो र तेस्रोमा रहेका नेता खनाल र बामदेव गौतमको चार घन्टाको संवाद पनि रहेको छ। यसबाहेक अध्यक्ष नेपाललाई अख्तियारको मुद्दाले पनि नैतिक संकटमा पारेको छ। 

उनलाई नेतृत्वबाट अलग रहन खनालले निरन्तर चेतावनी दिइरहेका छन्। यहि मेसोमा खनाल र गौतमबीचको वार्ताको झङ्कारसँगै अध्यक्ष नेपालले पार्टीको बैठक समेत सारेका छन्। 

यसले झनै विवाद गहिरो बनेको नेताहरुले बताएका छन्। एक नेता भन्छन्,‘पार्टी सानो भए पनि तीन नेताको समीकरण अलग देखिन्छ। यसकारण एकले अर्कालाई निषेध गर्ने क्रम सुरु भएको छ।’

अध्यक्ष नेपाल पतञ्जली जग्गाको नीतिगत भ्रष्टाचारको प्रकरणमा मुछिएपछि झनै तिव्र विवाद सुरु भएको देखिन्छ।

नेपाल र खनाल सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन्। उनीहरूको कलहको प्रत्यक्ष असर तल्लो तहका कार्यकर्तासम्म देखिएको छ। 

दुई नेताबिचको विवाद पेचिलो बन्दै गएपछि एकीकृत समाजवादीले छलफल गर्न स्थायीदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ। स्थायी समिति ४ भदौमा, पोलिटब्युरो ५ मा र केन्द्रीय कमिटी ७ र ८ भदौमा बस्ने गरी बोलाइएको महासचिव घनश्याम भुसालले बताए। स्थायी समिति र पोलिटब्युरो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा र केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बोलाइएको छ।

नेता खनालले सचिवालयमा आफूले पेस गरेको ६ बुँदे प्रस्तावमाथि छलफल गर्न बैठकको माग गरेका थिए। 

वरिष्ठ उपाध्यक्ष पाण्डेको समन्वयमा नेपाल र खनालबीच छलफल भएको थियो। पाण्डेले सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको बताए। 

केही समय सेलाएको शीर्ष नेताहरूको विवाद अनेरास्ववियू र युवा संघमा फेरि प्रकट भयो। दुवै संगठनमा दुवै पक्षले समानान्तर गतिविधि गर्न थाले। 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमले चार वर्षपछि चार घण्टा लामो छलफल गरेका छन्। केही समयअघि मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका गौतम खनाललाई भेट्न शनिबार खनालनिवास डल्लु पुगेका थिए। 

एकीकृत समाजवादी स्थापना भएपछि खनाल र गौतमबिच भेट भएको थिएन । गत २ साउनमा पार्टी एकता घोषणा सभामा खनाल र गौतमबिच सामूहिक भेट भएको थियो।

एमालेमा रहँदा पनि खनाल र गौतमबीच आठौं महाधिवेशनमा नेपालविरोधी समीकरण बनेको थियो। त्यस समय नेपालले अध्यक्षका निम्ति हालका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति