नेभिगेशन
विश्व

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, मन्त्रीको घोषणा–‘तेहरान काम्ने छ’

काठमाडौं– इजरायल र इरानबीच युद्धविराम लागु भएको भनिएको केही घण्टा नबित्दै त्यसको दिगोपनालाई लिएर अन्योल उत्पन्न भएको छ।

इजरायली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै त्यसका विरुद्ध कडा प्रतिवाद गर्न सेनालाई आदेश दिएको बताएका छन्।

रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति जारी गर्दै इरानले गरेको युद्धविराम उल्लङ्घनको विरुद्ध तेहरानको मुटुमा रहेका निसानाहरूमा सघन प्रहार गरेर कडा प्रतिवाद गर्न आफूले आदेश दिएको बताएका छन्।

यसअघि बोल्दै इरानका विदेशमन्त्रीले इजरायलले आक्रमण बन्द गरेमा मात्र आफूहरूले युद्धविराम गर्ने बताएका थिए।

इरानबाट क्षेप्यास्त्र प्रहार भएको पत्ता लागेको केही क्षणमै इजरायलका अति दक्षिणपन्थी मानिने अर्थमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

‘तेहरान काम्ने छ’, प्रधानमन्त्री बेन्जमिन नेतान्याहुका निकट सहयोगी मन्त्री बेजालेल स्मोत्रिखले एक्समा लेखेका छन्। इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको थियो।

उसको हवाई प्रतिरक्षा प्रणाली ती क्षेप्यास्त्र निस्तेज पार्न सञ्चालित भएको भन्दै उसले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा जान र थप सूचना पर्खन भनेको थियो।

यी पछिल्ला आक्रमणका विवरण युद्धविरामबारे दुवै देशले सहमति जनाएपछि आएको हो।

यी घटनाक्रमले युद्धविराममाथि अनिश्चय उब्जाएको जेरुसलेमस्थित बीबीसी संवाददाता ड्यान जोन्सनले बताए। जोन्सनका अनुसार तेहरानले क्षेप्यास्त्र प्रहार गरेको अस्वीकार गरेको छ।

‘हामीलाई थाहा छैन त्यो कसरी प्रहार भयो। कतै कुनै गल्ती भयो वा अन्य केही कारण छन् तर यसलाई वरिष्ठ अधिकारीहरूले युद्धविरामको उल्लङ्घन मानेका छन्’, जोन्सनले भने।

इजरायलका मानिसहरूका निम्ति यो समय अनिश्चयपूर्ण छ।

‘आउने घण्टा, दिन तथा साताहरूमा शान्ति छाउन लागेको उनीहरूले अपेक्षा गरिरहँदा पुनः हवाई साइरन बज्न थालेका छन्’, जोन्सनले भने।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व