नेभिगेशन
विश्व

इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं : इरानका विदेश मन्त्री सेयद अब्बास

काठमाडौं । इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फत् यो कुरा बताएका हुन् ।

‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् ।

उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शक्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन् ।’


त्यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो युद्धविरामको कुनै पनि सम्झौता नभएको बताउँदै त्यसबारे पछि निर्णय गरिने उल्लेख गरेका थिए।

यसैबीच समाचार एजेन्सी रोयटर्सले इरानी अधिकारीले युद्धविराममा सहमति जनाएको पुष्टि भएको उल्लेख गरेको छ । तर ती अधिकारी को हुन् भन्ने खुलाएको छैन।

इजरायललाई भने पहिल्यै ट्रम्पले युद्धविराममा सहमति गराएको पनि समाचारमा उल्लेख छ । यद्यपि इरानले थप आक्रमण गरेन भने मात्रै युद्धविराम लागु हुने सर्त इजरायलले राखेको रोयटर्सको समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविराम ‘क्रमिक रूपमा सुरु हुने’ बताएका छन् । उनका अनुसार दुवै पक्षले हाल सन्चालनमा रहेका कुनै पनि ‘सैन्य मिशन’ पूरा गर्न पाउने समय हुनेछ, त्यसपछि मात्रै पूर्ण युद्धविराम लागू हुनेछ ।‘

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व