नेभिगेशन
विश्व

इरान र इजरायल युद्ध विराम गर्न सहमत : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएको बताएका छन् । 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ दिएका छन् ।

‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन् ।

ट्रम्पले करिब ६ घण्टापछि इजरायल र इरानले हाल जारी अन्तिम मिसनहरू सम्पन्न गरेसँगै युद्धविराम सुरू हुने स्पष्ट पारेका छन् ।

ट्रम्पका अनुसार औपचारिक रूपमा युद्धविरामको सुरुआत इरानले गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ।

‘२४ औं घण्टामा भने ‘१२ दिने युद्ध’ को औपचारिक अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ,’ उनले लेखेका छन्, ‘युद्धविराम अवधिभर एक पक्ष शान्त र सम्मानजनक व्यवहारमा रहनेछ, जब अर्कोतर्फबाट युद्धविराम जारी हुनेछ।’

ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वासका व्यक्त गर्दै लेखेका छन्, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु । उनले भनेका छन् यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिन सक्थ्यो र पुरै मध्यपूर्वलाई तहस-नहस पार्न सक्थ्यो। तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन! ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस् ।

इरान र इजरायलले भने युद्ध विराम भएको कुराको पुष्टि गरेका छैनन्। इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेसँगै इजरायल-इरान द्वन्द्वले नयाँ रूप लिएको हो ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व