नेभिगेशन
समाज विविध

‘कुलिङ पिरियड’को विवादले निजामती सेवा विधेयक रोकिएको होइन : मन्त्री गुप्ता

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘कुलिङ पिरियड’को विवादका कारण संघीय निजामती सेवा सम्बन्धी विधेयक रोकिएको भन्ने प्रचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुप्ताले राजनीतिक दलको विरोध कार्यक्रम चलिरहेको र मन्त्रालयको महत्वपूर्ण कार्यक्रम परेको कारण असार ३ गतेको संसद बैठकमा विधेयकको छलफल कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

“मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसद्लाई दिन नसक्ने अवस्था भयो, त्यसैले सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ,” मन्त्री गुप्ताले भने, “प्रस्तुत विधेयकमा भएका कुनै व्यवस्था परिवर्तन गर्नका लागि हटाइएको होइन, सबै माननीयज्यूहरूलाई यो विषयमा स्पष्ट हुन अनुरोध गर्छु ।”

निजामती सेवा विधेयक विगत नौ वर्षदेखि प्रक्रियामा अलपत्र रहँदै आएको छ । गुप्ताले उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेको र सरोकारवाला सबै पक्षसँग छलफल गरेर तयार पारिएको बताए। उनले संघीयता कार्यान्वयनको सन्दर्भमा यो विधेयक अब आवश्यक र अनिवार्य भएको पनि उल्लेख गरे ।

‘कुलिङ पिरियड’का कारण विधेयक रोकिएको हो भन्ने प्रश्नको जवाफ दिँदै गुप्ताले भने, “कुलिङ पिरियड होइन, त्यसमा फुलस्टप र कमा पनि परिवर्तन हुँदैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध