नेभिगेशन
सुरक्षा–अपराध

६१ किलो सुन तस्करीः अमलाको पक्राउमा माओवादी नेताका मन ‘अमिलो’ हुने कारण

काठमाडौं– माओवादी उपमहासचिव बर्षमान पुनःले ‘सरकारले सहमति गरेअनुसारको काम गरेन’ भन्ने प्रतिक्रिया दिए, कारण खुलाएनन्। 

सोही बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अमला रोका मगरलाई पक्राउ गरेको थियो।

६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि फरार भनिएकी अमला पक्राउ पर्नासाथ बर्षमानको यो प्रतिक्रियालाई कतै न कतै कनेक्शन त छैन भनेर नियाँल्न सकिने धेरै अनुसन्धान अधिकारीको बुझाई छ।

अमलाको कनेक्शन बर्षमानसँग मात्र नभएर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः, उपाध्यक्ष कृष्णबहादुर महरादेखि सिंगो माओवादीका पदाधिकारी सबैसँग गहिरो र घनिष्ठ रहेका विवरण यसअघि नै सतहमा आइसकेका छन्।

यसबाहेक सुन तस्करी प्रकरणमा अमला पक्राउ नपर्दा ‘सुनपानी’ छर्किएको ठानेका माओवादीका नेताहरु पनि तानिन सक्ने सम्भावनालाई ‘मृत’ राख्न नमिल्ने अनुसन्धानमा अब्बल पूर्वप्रहरी अधिकारी बताउँछन्।

‘सुन तस्करीको ठूलो र्याकेडमा जोडिँदा बयानका क्रममा नेताको नाम आए पक्राउ गरी बयान लिने काम हुन्छ’, उच्च स्रोतले भन्यो,‘यसकारण अमला रोकाको पक्राउलाई असामान्य नै मान्नुपर्छ।’

यसअघि माओवादी सरकारमा रहेका बेला सुन प्रकरणमा नसमातिएकी उनी एकाएक पक्राउ गरिएकी छन्।

६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेपछि माओबादी नेताहरु महरा, वर्षमान र नन्दकिशोर पुनः तनावमा परेको बताइन्छ। 
अमला ६१ किलो सुनकाण्डका नाइके बेल्जियम नागरिक दावा छिरिङकी पत्नी हुन्। 

अध्यागमन विभागमा दावाको भिषा सहजिकरणका लागि दावाकी पत्नीका रुपमा उनले कागजात पेश गरेकी थिइन्।

तिनै अमला रोक्का ६१ किलो सुन प्रकरणमा पक्राउ परेकी छन्। ठमेलमा होटल भियना चलाएर बसेकी अमला र उनका पति दावा छिरिङ सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

दावा पक्राउ परेर अहिले कानुनी कारबाहीका क्रममा कारागारमा छन्। अमला भने फरार रहेकी थिइन्।

स्कुटरको ब्रेक शु, पानी तान्ने मोटर लगायतमा फिट गरी सुन तस्करी गर्ने योजनाका नाइके मानिएका दावा पक्राउ परेसँगै उनीसँग सम्बन्ध देखिएका अन्य चिनियाँहरु पनि पक्राउ परेका थिए।

दावालाई नेपालमा व्यापारिक संजाल विस्तार गर्न योगदान गरेको तथा सुन तस्करीमा समेत शंकास्पद भूमिका देखिएको आरोपमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन समेत तानिएका थिए।

अमला रोकासहित माओवादी उपमहासचिव वर्षमान पुनका भाई प्रनेश पुन मगरको लगानीमा सुन उत्खनन तथा प्रशोधन गर्ने कम्पनी रहेको खुलेको थियो।

माओवादी उपमहासचिव पुनले त अमला रोका आफ्नी गाँउले चेली भएको स्वीकार गरेका थिए।

२०५५ सालमा भलिबल खेलको निहुँमा भएको ग्याङफाइटमा अमला रोकाका पूर्वपति सुजन प्रकाश रोकाको खुकुरी प्रहारबाट मृत्यु भएको उल्लेख गरिएको छ। 

२०६३ सालसम्म गाँउमै काखको छोरा हुर्काउँदै गरेकी अमला, माओवादी शान्ती प्रक्रियामा आएसँगै काठमाडौ झरेर अल्लो, भाङ्गो व्यापारमा लागेकी थिइन्।

त्यहीबेला उनका पूर्वपती सुजन प्रकाश रोकालाई समेत माओवादीले शहीदको सूचीमा राख्यो भने अमलाले समेत शहिदको परिवारको भत्ता बुझन् थालिन्। यही कारण माओवादी नेताहरुसँग उनको सम्बन्ध राम्रो हुँदै गयो। 

सानो तिनो व्यापार र माओवादी नेताहरुसँग नजिक भएपछि उनको सम्बन्ध ठूला व्यापारीहरुसँग बढेको थियो। यही क्रममा उनको तिब्बती मूलका बेल्जियन नागरिक दावासँग विवाह भएको थियो। दावासँग बिहे भएपछि भने थबाङको ठूलो गाँउकी अमला रोकाको आर्थिक हैसियत अस्वभाविक बढेको देखिन्छ।

माओवादी नेतासम्म अमलाको पहुँच, दाबासँग साइनो कसरी?
माओवादीका नेता, तिनका सन्तानसँग सम्बन्ध रहेका कारणले नै अमला पक्राउ पर्दा मन अमिलो बनाउन बाध्य भएका छन्।

माओवादी आन्दोलनको ‘लाल किल्ला’ भनेर चिनिने थबाङको सामान्य परिवारमा जन्मिएकी अमला कसरी तिब्बती मूलका ‘बेल्जियन तस्कर’सँग वैवाहिक सम्बन्धमा बाँधिइन्, सबैतिर चासो थियो।

अहिले सुन तस्करी प्रकरणमा दावाको नाम मुछिए पनि नेपाल प्रहरी र माओवादी नेताहरूका लागि उनी नयाँ होइनन्। दावा एक दशकदेखि राजधानी छेउछाउ र रोल्पाका माओवादी नेताहरूको समिपमा हुर्किरहेका पात्र हुन्।

दावा पक्राउ भएपछि माओवादी नेता वर्षमान र पूर्वउपराष्ट्रपति नन्दबहादुरसँग खिचाएका उनका र उनकी पत्नी केही तस्बिरहरू सार्वजनिक भए।

सामाजिक सञ्जालमा फैलिएका ती तस्बिर र उनीहरूबीचको हिमचिमले सुन तस्करी प्रकरणको अनुसन्धान उच्च राजनीतिक नेतृत्वतर्फ सोझिएको छ।

वर्षमान पुनले दावासँग खिचिएको तस्बिरबारे प्रष्टीकरण दिएपनि उपराष्ट्रपति नन्दबहादुर मौन छन्। र, दावा–अमला र माओवादी नेताहरूको साइनो–सम्बन्ध तस्बिरमा मात्र सीमित नभएको माओवादी केन्द्रकै नेताहरू बताउँछन्।

दाङ हुँदै काठमाडौँ छिरेपछि अमला कसरी जोडिइन्, माओवादी नेतासँग? एउटा गम्भीर प्रश्न। तर थबाङ्गीहरू भने अमलाको ‘रातारात भइरहेको प्रगति’ देखेर चकित भए। 

तस्करीमा व्यापक नाम कहलिएका दाबासँगको बिहेपछि नै अमलाको आर्थिक हैसियत बढेको थियो। दाबालाई माओवादी नेतृत्वसम्मको सहज पहुँच र अमलालाई आर्थिक हैसियतको प्यासले सम्बन्ध गाँसिएको चर्चा हुन्छ। 

काठमाडौँ आएपछि अमलाले थबाङ्गी समाजमार्फत माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग ‘दाजु नाता’ गाँसिन्। उनीहरू हर्ताकर्ता र चलायमान सहजै पैसा खर्च गर्न सक्ने अमलालाई देखेपछि मोहित भए नै।

वर्षमान र नन्दबहादुसँगै शुकबहादुर रोका, जीवन रोका, जुना मगर, दीपेश पुन र मौसम रोकासित मित्रता फैलाइन्। र, आफ्ना चिनियाँ पति दावासँग पूर्वउपराष्ट्रपतिकी बुहारी जुनासँग भाइटीका लगाउने साइनो विस्तार गरिन्।

पूर्वउपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव शुकबहादुर र विद्यार्थी नेता दीपेशसँग सुमधुर सम्बन्ध कायम गरिन्। थबाङनिवासी जीवन र मौसमलाई पारिवपारिक नाता–साइनो लगाइन्। अनि चिनियाँ तस्कार पति दावा छिरिङलाई सहजै राजनीतिक शक्तिको पहुँचमा पुर्याइन्।

दावा पक्राउ परेपछि वर्षमान र नन्दबहादुरसमेत विवादित बनेका छन्। नन्दबहादुर परिवार मौन देखिएपनि वर्षमान पुनले आफ्नो नाम र आठ वर्ष पुरानो फोटो जोडेर भाइरल बनाएको भन्दै आपत्ति जनाएका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध