नेभिगेशन
समाज विविध

अनेरास्ववियुको निर्वाचन कार्यक्रम फेरी संशोधन, विहिबार बिहान ८ बजेदेखि मतदान

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्वको निर्वाचन कार्यक्रम फेरी संशोधन भएको छ ।  

निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गर्दै विहिबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान गर्ने कार्यक्रम सार्बजनिक गरेको छ । 


यसअघि बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको थियो । तर निर्वाचन कमिटीले सुरक्षा निकायको सुझाव अनुसार निर्वाचन विहिबारका लागि सारेको बताइएको छ ।


नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो । 


अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा जाने भएको हो । 

डा. सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन गरिएको प्रस्ताव प्रकाश पौडेल पक्षले अस्वीकार गरेपछि मतदान हुने भएको बताइएको छ  ।

अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो । 

महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।  यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध