नेभिगेशन
खेलकुद

हाम्रा क्रिकेटर कसरी रमाउँछन्? कान्छा गुल्शनलाई सबैले जिस्क्याउँछन्!

काठमाडौं– ‘गुल्शन! कान नभए पनि चश्मा कसले लगाउँछ देख्या छौ?’, नेपाली राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर सोमपाल कामीले सोध्छन्।

अर्का अलराउन्डर गुल्शन झा एकछिन सोचमग्न हुन्छन्। अनि, जवाफ फर्काउँछन्,‘खै त्यस्तो त देख्या छैन।’

अनि सोमपालले कपडा पसलमा चश्मा लगाएर राखिदिएको स्ट्याचुलाई देखाउँदै भन्छन्,‘यसले लाउँछ।’

अन्य खेलाडी हाँस्छन् अनि गुल्शन पनि लजाउँछन्। 

सामाजिक सञ्जालमा यस्तै–यस्तै रिल बनाउँदै रमाइलो गर्छन् सोमपाल। 

टोलीका कान्छा अलराउन्डर हुन् गुल्शन झा। उनको जीवनमा खेलबाहेक अरु रमाइलो टोलीका अग्रजहरूसँगको घुमघाम नै हो। 

सपिङ गर्न रुचाउने गुल्शनमाथि कफीलगायतका विषयमा पनि सोमपाल, रोहित पौडेललगायतले निक्कै जोक गरेका भिडिओहरू देख्न सकिन्छ। 
राष्ट्रिय टोलीका खेलाडी आफ्ना खेलहरू सकिएपछि मुलुक फर्किनुअघि विदेशमा यसरी रमाउने गरेको पाइन्छ।

विश्वकप अन्तर्गतको खेलमा गुल्शनलाई धेरैले गाली गरेका थिए, साउथ अफ्रिकासँगको प्रतिस्पर्धामा। तर, क्रिकेटमा यस्ता घटना दुर्लभ मानिँदैनन्। 

नेपाली फ्यानले माया गरेको देखेर पनि रमाउँछन्। एउटा पोडकास्टमा गुल्शन भन्छन्,‘दक्षिण अफ्रिकासँगको खेलमा पराजित भएपछि बिमानमा आउँदा एक जनाले मलाई नि दोषि जसरी कुरा गर्नुभयो। मेरो अलिकति मन दुखेको थियो, हामी देशका लागि खेल्छौं नि।’

दुखेको मन टोलीका साथीहरुसँग बेलामौका रमाएर सम्हाल्ने नेपाली राष्ट्रिय टोलीले अहिले पनि मिहेनतसाथ खेलीरहेको छ। 

अघिल्लो वर्षको ओमान चरणमा नेपालले केही कमजोर प्रदर्शन गरेको थियो र स्कटल्यान्ड, नेदरल्याण्ड्स र यूएई जस्ता टिमसँग तालिकामा संघर्षरत थियो।

अहिले नेपाली टोलीले स्कटल्यान्डमा राम्रो प्रदर्शन गरेको छ र त्यहाँ गुल्शनलगायतका सबैको मिहेनत दरिलो देखिन्छ। 

नेपालले ओडीआई लीग २ मा घरेलु रहेका कारण राम्रो फाइदा लिन सक्छ अनि प्रतिशोधात्मक प्रदर्शनको बाटो समात्न सक्छ। कोच परिवर्तन, बलिङ र ब्याटिंग इकाईमा सुधार पनि भैरहेको छ। 

यदि नेपालले आगामी खेलहरूमा निरन्तरता बनाइराख्यो भने शीर्ष चारमा पुग्ने सम्भावना अझै छ। खेलभन्दा पनि रोचक उनीहरूको मित्रता, हाँसो र रमाइलो पनि रहेको देखिन थालेको छ अचेल, पहिलाको तुलनामा।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद