नेभिगेशन
समाज विविध

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न ६ जनाको आवेदन

काठमाडौँ- राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आव्हान गरेको आज अन्तिम दिनसम्म अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको हो ।

सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि यही जेठ ११ गते दरखास्त आव्हान गरेको थियो । जेठ २५ गतेसम्म अर्थात् आइतबारसम्म १५ दिनको समय दिएर दरखास्त आह्वान गरिएकोमा आज कार्यालय समयसम्म उक्त संख्यामा आवेदन परेको हो ।

विज्ञ सदस्यमा भने ५ जनाको आवेदन परेको छ । ललितपुरको पुल्चोकमा प्राधिकरण स्थापना गरेको चार महिना बितिसक्दा समेत प्राधिकरणको सञ्चालक समितिले अझै पूर्णता पाउन सकेको छैन । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न बनेको प्राधिकरणको सञ्चालक समितिले अहिलेसम्म पूर्णता पाउन नसकेको हो ।

प्राधिकरणमा पाँच सदस्यीय सञ्चालक समिति हुनुपर्ने व्यवस्था छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले पाँच सदस्यीय सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअनुसार सरकारले प्राधिकरणको स्थापना गर्दा अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेललाई दिएको छ । पोखरेल अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा सोही मन्त्रालयका सचिव केदारनाथ शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध