नेभिगेशन
सुरक्षा–अपराध

महोत्सव आयोजकले अटेर गरेपछि डीएसपीको एक्शन, मञ्चमा चढेर काटिदिइन् माइकको लाइन

काठमाडौं– प्रशासनले दिएको अनुमति मिच्दै तोकिएको समयभन्दा बढीसम्म महोत्सव चलाएपछि बाराको जितपुर–सिमरामा प्रहरी नायव उपरिक्षक (डीएसपी) शुभद्रा बाइबाले हस्तक्षेप गरेकी छन्।

रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो। प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए।

भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन काटिदिएकी थिइन्। उक्त भिडिओ अहिले भाइरल छ।

अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन्।

आयोजकले भने एक घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन्। भिडभाड र झगडाको सम्भावना बढेपछि रोकिएको डीएसपी वाइबाको भनाइ छ।

अहिले तराईलगायतका विभिन्न जिल्लामा महोत्सव आयोजना गरी कलाकार बोलाएर प्रस्तुती दिने क्रम जारी छन्। कतिपय महोत्सवमा झडप समेत भएका उदाहरणबीच डीएसपी बाइबाको एक्शनलाई धेरैले समर्थन गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध