नेभिगेशन
विश्व

विश्वकै गरिब राष्ट्रपति मानिने जोस मुजिकाको निधन, यस्तो थियो जीवन

काठमाडौं– दक्षिण अमेरिकी मुलुक उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिकाको निधन भएको छ। 

८९ वर्षको उमेरमा निधन भएका उनी पूर्वगुरिल्ला नेता थिए भने ‘पेपे’ नामले पनि चिनिन्छन् ।

उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए। उनको निधनको कारण खुलिसकेको छैन। यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए।

उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति जोस मुजिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद।’

यस्तो थियो जीवन 
राजनीतिबाट रिटायर्ड भएपछि मुजिकाले पेन्सन लिन समेत इन्कार गरे। पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए।

राष्ट्रपति बनेपछि पनि मुजिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बने। 

त्यसबेला पनि आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै पदबाट राजीनामा दिए। 

मुजिकाले सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए। खासमा लुसिया उनकै पत्नी थिइन्।

मुजिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए। उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बस्दै आएका थिए। यी दुवै पति–पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए।

राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए। सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो।

Jose-Mujica-1747196216.jpg
हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध भयो र सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजे। तर बेच्न मानेनन्। त्यतिबेला उनले मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन भनेका थिए।

मुजिका छुचो बोलीका कारण कहिले काहिँ विवादमा पनि आउने गर्दथे। कतिपटक त उनले माफी पनि माग्नु परेको थियो।

राजीनामा पत्रमा पनि उनले आफ्नो बोलीको कारण कसैलाई दुःखी बनाएको भए म माफी माग्दछु पनि भनेका थिए।

सन् २०१३ मा उनले अर्जेन्टिनाको तत्कालीन राष्ट्रपति क्रिस्टिनालाई ‘बूढी बोक्सी’ भनिदिएका थिए। यसैगरी सन् २०१६ मा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई पनि उनले ‘पागल बाख्रो जस्तो’ भनेर टिप्पणी गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व